रूकुम, ७ फागुन । राप्ती लोकमार्ग अन्र्तगत रूकुम खण्डको सडक मर्मतका लागि ठेक्का आह्वान गरिए पनि अहिलेसम्म कुनै निर्माण कम्पनीको आवेदन परेको छैन । चौथो पटकसम्म सडक मर्मतका लागि ठेक्का आह्वान गरिए पनि कुनै कम्पनीले आवेदन नदिएको सडक डिभिजन कार्यालय, रूकुमले बताएको छ ।

rapti_sadak-750कार्यालयले पहिलो पटक ३० दिन, दोस्रो र तेस्रो पटक १५/१५ दिनको म्याद राखी ठेक्का आह्वानको सूचना राष्ट्रिय पत्रिकामा प्रकाशित गरेको थियो । तर, तेस्रो पटकसम्म कसैले ठेक्का दर्ता नगरेपछि पुनः चौथो पटक ३० दिनको म्याद राखी ठेक्का आह्वान गरिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।

‘चौथो सूचना सार्वजनिक गरेको पनि झन्डै १ हप्ता भइसकेको छ,’ उनले भने, ‘तर अहिलेसम्म कसैले पनि ठेक्का दर्ता गराएका छैनन् ।’ सूचना प्रकाशित गर्दा आवेदन नपरेपछि विभिन्न निर्माण कम्पनीलाई फोन गरेर ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको उनले बताए । अन्तिम पटक पनि ठेक्का नपरे सडक विभागसँग सल्लाह गरी निर्णय लिइने उनको भनाइ छ ।

सल्यान र रूकुम पश्चिमको सिमाना खौलादेखि सदरमुकाम मुसीकोट नगरपालिका–१ सल्ले बसपार्कसम्मको ३१ किलोमिटर सडकको मर्मतका लागि सडक विभागले चालू आर्थिक वर्षमा रू। २१ करोड रूपैयाँ विनियोजन गरेको थियो । ठूलो बजेटको काम छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले निर्माण कम्पनीले प्रस्ताव दर्ता नगरेको बताइएको छ । विनियोजित बजेट चालू आर्थिक वर्षको असारसम्ममा खर्च गरिसक्नु पर्छ । समय अवधि छोटो र गर्नुपर्ने काम धेरै भएकाले समयमै सम्पन्न गर्न नसकिने हुँदा ठेक्का प्रक्रियामा भाग नलिइएको निर्माण कम्पनीहरूले बताएका छन् । म्याद थप्न नमिल्ने भएकाले पनि सडक मर्मतमा समस्या हुने उनीहरूको भनाइ छ ।

असारभित्र योजना नसके १० प्रतिशत जरीवाना तिर्नुपर्ने भएकाले जोखिम नलिइएको निर्माण कम्पनी यती बिल्डर्सका प्रबन्ध निर्देशक भीमराज केसीले बताए । ‘आवेदन नदिनुको मुख्य कारण लाइन अफ क्रेडिट नै हो,’ उनले भने, ‘छोटो समयमा धेरै काम गर्नुपर्ने हुँदा निर्माण कम्पनीहरूले जोखिम मोल्न नचाएका हुन् ।’ सार्वजनिक खरीद नियमावलीको आठौं संशोधनले काम गर्न असहज बनाएको उनको भनाइ । अभियानबाट