इन्द्रेणी संवाददाता
दाङ, २५ चैत्र
जनआन्दोलन दिवसको अवसरमा एकीकृत नेकपा माओवादीले बुधवार साँझ घोराहीको सहिद गेटमा दीप प्रज्वलन गरेको छ । एमाओवादीका नेता कार्यकर्ताले मैनबत्ती बालेर जनआन्दोलन दिवसको सम्झना गरेका हुन् । सो अवसरमा बोल्दै एमाओवादी दाङका कोषाध्यक्ष लुमबहादुर कार्कीले जनयुद्ध र जनआन्दोलनको संयोजनद्वारा नेपालमा गणतन्त्र स्थापना हुन संभव भएको बताउनुभयो ।
dip
‘जनयुद्धको जगमा भएको दोस्रो जनआन्दोलनको बलमा नेपालमा गणतन्त्र स्थापना भएको छ’– उहाँले भन्नुभयो– ‘यो नेपाली राजनीतिमा ऐतिहासिक परिघटना हो ।’ अब संविधानले गणतन्त्र संस्थागत गरिसकेकाले संविधान कार्यान्वायन गर्दै संविधानको मर्मअनुसार समाजवादी राज्यब्यवस्था स्थापनाको दिशामा अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यmममा एमाओवादी क्षेत्र नम्बर ३ का इञ्चार्ज लुमकान्त न्यौपाने, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रवीण शर्मालगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन अखिल क्रान्तिकारी दाङका अध्यक्ष सन्तोष पोख्रेलले गर्नुभएको थियो । माओवादीलगायत केही दलले चैत २४ गते जनआन्दोलन दिवस मनाउँदै आएका छन् भने कांग्रेस एमालेलगायतका केही दलले चैत २६ गते जनआन्दोलन दिवस मनाउने गर्दछन् ।

२०४६ चैत २४ देखि शुरु भएको आमहड्तालसहितको निर्णायक आन्दोलनले चैत २६ गते पञ्चायती ब्यवस्थाको अन्त्य गरेको थियो । त्यस्तै २०६२ चैत २४ देखि आमहड्तालसहित शुरु भएको १९ दिने निर्णायक आन्दोलनले २०६३ बैशाख ११ गते लोकतन्त्र स्थापना गरेको थियो ।।