घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को एघारौं दिन चर्चित हास्यव्यङ्ग्य कलाकार कमल गाउँले र मोडल तथा गायिका प्रिती आलेले दर्शकलाई छमछमी नचाएका छन् ।
उनीहरुले दोहोरी मार्फत दर्शकहरुलाई छमछमी नचाएका थिए । प्रितीको वेली डान्स र कमल गाउँलेको हास्यव्यङ्ग्य प्रस्तुतीले महोत्सवको माहोल पूरै रोमाञ्चित बनाएको थियो । दाङ निवासी राष्ट्रिय कलाकार कमल गाउँलेले कार्यक्रमको बिचबिचम हास्यव्यङ्ग्य सहितको नृत्य प्रस्तुत गरेका थिए । सोमवार गाउँले, आले, कमल–नारायण, प्रेम शर्मा, देवकला बस्नेत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । बिचबिचमा थुप्रै स्थानीय कलाकारहरुले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।
महोत्सवको अन्तिम दिन आउँन नजिकै रहँदा दर्शकहरुको उत्साह निकै देखिएको चेम्वर दाङका सचिव एवम् प्रचारप्रसार समिति संयोजक कुमारराज श्रेष्ठले बताउनुभयो । ‘शुरुका दिनहरुको तुलनामा पछिल्ला दिनहरुमा दर्शकहरुको सङ्ख्या राम्रो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘महोत्सवमा हामीले राष्ट्रिय कलाकारहरुका साथै थुप्रै स्थानीय प्रतिभाहरुलाई स्थान दिएका छौं ।’











