दाङ, १९ माघ । कुनैबेला राजनीतिक जीवनमा सक्रिय देखिएका पूर्वपर्यटन तथा स्वास्थ्य मन्त्री लोकेन्द्र विष्ट आजभोलि आफैले लगाएको ‘ड्रागन फ्रुट’ खेतीमा व्यस्त छन् । उनले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ स्थित विजौरीमा ६६ कट्ठा जग्गा भाडामा लिएर ड्रागनको व्यवसायिक खेती गरेका छन् ।

Photo draganकरीब रू. १ करोडको लगानीमा गरिएको ड्रागन फ्रुट खेतीले अब केही आम्दानी समेत दिन शुरु गरिसकेको पूर्वमन्त्री विष्ट बताउँछन् । ‘स्थानीयको गाई चराउने वञ्जर डाँडोलाई मेहनेतका साथ खेतीयोग्य बनाइयो’, उनले भने, ‘लगाएको यो ड्रागन खेतीले थोरावहुँत आम्दानी दिन पनि शुरु गरेको छ ।’

उत्पादनका हिसावले ९ महीनामा फल दिने भनिएपनि आफूले लगाएको ड्रागनले ६ महीनामै फाटफुट रुपमा फल दिन शुरु गरेको उनले बताए । यो विरुवा रातमा मात्रै फुल्ने भएकाले पहिलो फुल देख्नलाई आफू मध्यरातसम्म बगैचामै बसेको पनि उनले अनुभव सुनाए । ‘रातमा फुल्छ भन्ने मात्रै सुनिएको थियो’, उनले भने, ‘कसरी कस्तो फुल्दो रहेछ भनेर पहिलो पटक फुलेको देख्नलाई रातभरी बगैचामै जागाराम बसियो फुलेको पनि देखियो ।’

१५ वर्षका लागि त्यो ६६ कट्ठा वञ्जर डाँडोलाई लिजमा लिएर उनले करीब ७ हजार ड्रागनका विरुवा रोपेका छन् । विरुवा रोपेका मात्रै होइन उनले अहिले आएर त्यसका विरुवासमेत विक्री गर्ने गरेका छन् । यो खेती जिल्लामै पहिलो पटक भित्रएर आकर्षक रुपमा ड्रागन खेती गरेपछि आजभोलि उनको खेती हेर्न विभिन्न ठाउँबाट मानिस जाने गरेका छन् । खेती देखेपछि उनीहरुले घर वा आफ्ना बगैचामा लगाउनका लागि विरुवा समेत किन्ने गरेका छन् ।

अहिलेसम्म विष्टले ८ देखि १० हजारसम्म ड्रागनका विरुवा पनि वेचिसहेका छन् । एभोकाडोको एउटा विरुवालाई रू। ५०० पर्छ भने ड्रागन फ्रुटको प्रजाति अनुसार सेतोको प्रतिबोट रू। २०० र रातोको रू। ३०० मा किन्न पाइन्छ । १५ वर्षको अवधिमा करीब ३५ देखि ४० लाखको विरुवा विक्री गर्ने लक्ष्य उनले राखेका छन् भने ५ वर्षमा पूर्ण लगानी उठाइ सक्ने र बाँकी १० वर्ष मुनाफा गर्ने विष्टको लक्ष्य छ । बजारमा यसको मूल्य प्रतिकिलो रू। ७०० देखि २ हजारसम्म पर्छ ।

के हो ड्रागन फ्रुट ?
दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिनिन्छ । यसको एउटा विरुवाबाटै धेरै वर्षसम्म उत्पादन लिन सकिन्छ । उपयुक्त वातावरण एउटा फलको तौल १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ ।

यसको फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाइनुका साथै गर्मी मौसममा लस्सी पनि बनाएर खान सकिन्छ । यो क्यान्सर, सुगरलगायतका विरामीले खाना सकिन्छ । छालासम्बन्धि विभिन्न रोग, कोलस्ट्रोल नियन्त्रण गर्ने काम गर्नुका साथै क्यान्सर रोगको सम्भावना कम हुन्छ ।