दाङ, ८ पुस । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल जिल्ला महासंघ दाङले सामुदायिक वन समूहमाथि सरकारले लगाएको तेहेरो करको सशक्त बिरोध गर्ने निर्णय गरेको छ ।
वन महासंघ दाङको आज घोराहीमा सम्पन्न पूर्ण बैठकले सामुदायिक वनको अवधारणाको बिरुद्ध सरकारले तहेरो कर ल्याएको निष्कर्षसहित त्यसको बिरोध गर्ने निर्णय गरेको हो । तेहेरो करको बिरुद्ध वन महासंघले पुस १४ गते बुटवलमा ५ न. प्रदेश स्तरीय बिरोध प्रर्दशन एंव सभामा दाङबाट सहभागि हुने निर्णय पनि गरेको छ ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षता एंव वन महासंघ ५ नं प्रदेशका उपाध्याक्ष तिलमराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको बैठकले सरकारले ल्याएको तेहेरो कर फिर्ता नभएसम्म आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।
तेहेरो करको बिरुद्ध दाङका दश वटै स्थानीय तहमा स्थानीय महासंघको संयोजनमा सामुदायिक वनका उपभोक्ताहरुको भेला गर्ने निर्णय बैठकले गरेको वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वन ऐनको संसोधन, तेहेरो कर, संगठन सुदृणीकरण लगायतका बिषयमा उपभोक्ताहरुलाई जानकारी दिनका लागि स्थानीय तहमा कार्यक्रम गर्ने निर्णय भएको हो ।
बैठकमा जिल्लाका स्थानीय महासंघका अध्यक्षहरुले आफ्नो गाउठाउमा वन तथा वातावरण क्षेत्रमा भएका क्रियाकलाप, स्थानीय सरकारले वन महासंघलाई हेर्ने दृष्टीकोण, वन समूहको अवस्था, उनीहरुले लिएको निति, भइरहेको क्रियाकलाप लगायतका बारेमा जानकारी गराएका थिए । बैठकमा प्रदेश उपाध्याक्ष भण्डारीले सरकारले वन समूहका सवै अधिकार छिन्ने गरी अघी बढेको भन्दै त्यसका बिरुद्ध आन्दोलन गर्नुको बिकल्प नभएको बताए ।
बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ घोराहीका अध्यक्ष कर्णबहादुर बुढाथोकी, तुल्सीपुरका अध्यक्ष चन्द्रबहादुर वली, लमहीका लक्ष्मी योगी, बबइका मोहलाल थापा,दंगीशरणका अध्यक्ष शोभाकर न्यौपाने, शान्तिनगरका लेवाराम आचार्य,गढवाका नवराज शर्मा, राप्तीका अध्यक्ष हरी भुसाल लगायतकाले स्थानीय तहमा भइरहेको बस्तुस्थितिबारे जानकारी गराएका थिए ।











