तुलसीपुर, ७ पुस । तुलसीपुर उपमहानगरपालिकाले शैक्षिक शुल्क लिने सामुदायिक विद्यालयलाई कारबाही गर्ने भएको छ । निःशूल्क पढ्न पाउने विद्यार्थीको अधिकार भएको भन्दै शिक्षा समितिले शुल्क लिने सामुदायिक विद्यालयलाई कारवाही गर्ने भएको छ ।

ghanashyam pandeya - tulasipur meyarआगामी शैंक्षिक सत्रबाट यस्तो कारवाहीको सुरुवात हुने भएको छ । “विद्यालयको कुनै पनि आर्थिक व्यवस्थापनको जिम्मा उपमहानगरपालिकाले लिन्छ तर सामुदायिक विद्यालयले विभिन्न वहाना वनाएर शुल्क लिन मिल्दैन” वैठकमा नगर प्रमुख घनश्याम पाण्डेले भने । उनले सरकारले निशुल्क शिक्षाको घोषणा गरिसकेको अवस्थामा विद्यालयले मनोमानी ढँगले शुल्क लिनु दुर्भाग्यपूर्ण भएको वताए ।

यसैगरी उपमहानगरपालिकाले समग्र शिक्षाको अवस्थालाई समेटेर नगर स्तरिय शैक्षिक गुरुयोजना वनाउने भएको छ । शिक्षा क्षेत्रको समग्र विकासका लागि एकीकृत कार्ययोजना वनाउने गरी यस्तो गुरुयोजना वनाउन लागिएको हो । शिक्षा समितिको वैठकले यस्तो गुरुयोजनाका लागि टिच फर नेपालको समन्वयमा शिक्षा महाशाखा र नगर शिक्षा समितिलाई जिम्मेवारी दिइएको छ । समितिले ३ महिनाभित्र यस्तो गुरुयोजना वनाउने छ ।

यसैगरी नगरबाट सामुदायिक विद्यालयलाई वितरण गरिने विभिन्न अनुदानलाई व्यवस्थित गर्नका लागि शिक्षा शाखा प्रमुख भाष्करराज गौतमलाई जिम्मेवारी समेत दिइएको छ ।

वैठकले निजी विद्यालयले दिने गरेको छात्रवृत्तिलाई पारदर्शी वनाउनका लागि प्रत्येक विद्यालयलाई छात्रवृत्ति पाउने विद्यार्थीको सूचि पठाउन निर्देशन दिने समेत निर्णय गरेको छ ।

यसैगरी आगामी शैक्षिक सत्रमा उपमहानगरपालिकाले नै निजी विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीहरुको छनोट गर्ने निर्णय समेत गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा वसेको वैठकले निजी विद्यालयले लिने शुल्कको जानकारी शैक्षिक सत्र सुरु हुनुभन्दा २ महिना अगाडि नै उपमहानगरपालिकामा पठाउनुपर्ने निर्णय गरेको छ ।