हुम्ला, २७ मंसिर । हुम्लामा विगत सात आठ वर्षयता यो वर्ष चाँडै हिमपात सुरु भएको छ । विगतका वर्षमा पुस महिनापछि मात्र हिमपात हुने गरेको भए पनि यसपालि भने मङ्सिरमै हिमपात सुरु भएको स्थानीय बासिन्दा बर्ख रोकायाले बताए ।
यो वर्ष यो दोस्रो हिमपात हो । पहिलो हिमपात गत मङ्सिर १२ गते भएको थियो । बिहीबार बिहानैबाट हिमपात सुरु हुँदा जमिन हिउँले ढाकिन थालेको छ ।
जमिनमा एक इन्च हिउँ जमेको छ । सबैतिर सेताम्मे देखिन्छ । हिमपातसँगै बाक्लो कुहिरो पनि लागेको छ । तापक्रम भने दिउँसो माइनस तीन डिग्रीमा झरेको छ । चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ । उत्तरी हुम्लाका अग्ला स्थानमा हिउँ बढी जमेको छ । हिमपात दिनभरि भइरहेकाले पशु गोठमै राखिएको छ ।
हिमपातका कारण हुम्लाको एक मात्र हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हुने सबै उडान स्थगित भएको सिमकोट विमानस्थलले जनाएको छ । हिमपात नभएको भए तारा, सीता र समिट एयरका जहाजले आधा दर्जनभन्दा बढी उडान भर्ने तालिका रहेको विमानस्थलले जनाएको छ । हिमपातका कारण सरकारी तथा गैससका कार्यालयमा सेवाग्राहीको उपस्थिति कमी आएको छ ।











