बुटवल, २६ मंसिर। रूपन्देही र कपिलवस्तुका आठ इँटा उद्योग बालश्रममुक्त भएका छन् । बालश्रममुक्त हुने उद्योगमध्ये कपिलवस्तुमा ७ र रूपन्देहीको १ उद्योग छन् । लम्की इँटा उद्योग, बुद्ध इँटा, आरसी इँटा, बौद्ध, एपोला, हिमाल र जैसवाल कपिलवस्तुका छन् भने रूपन्देहीको सोना इँटा उद्योग छ ।
त्यस्तै, चार वटा इँटा उद्योग बालश्रममुक्त गर्न प्रमाणीकरण भएका छन् । सिद्धार्थ इँटा रूपन्देही र समृद्धि इँटा, एनएसएस र सेभेन स्टार इँटा उद्योग रहेका छन् । इँटा उद्योग बालश्रममुक्त बनाउने अभियानमा काम गर्दै आएको ‘नेपाल ग्लोबल फेयरनेस इनिसिएटिभ’द्वारा रूपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सम्मान गरे । इँटा उद्योगमा सबैभन्दा धेरै बालश्रमिक प्रयोग भएको विभिन्न अध्ययनबाट देखिएको छ । प्रदेश ५ मा २ सय ५९ इँटा उद्योग सञ्चालित छन् । उद्योगमा सयौं बालश्रमिकले काम गरिरहेका छन् ।
मन्त्री गिरीले इँटा उद्योगमा काम गर्ने मजदुरको आर्थिक अवस्था मजबुद्ध बनाउन सकेमा बालश्रम अन्त्य हुँदै जाने बताए । त्यसका लागि प्रदेश सरकारले पनि काम गरिरहेको बताए राजधानीमा खबर छ। मन्त्री गिरीले कानुन बनाएर सबै क्षेत्रमा रहेका बाल मजदुरलाई श्रममा नलगाउने गरी काम गर्ने अभियानमा सरकार अगाडि बढेको समेत प्रस्ट्याए ।
त्यस्तै, कार्यक्रममा प्रदेश ५ का अर्थ उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानले बालश्रम अन्त्य गर्न सबैको साथ र सहयोगले मात्र सम्भव हुने बताए । त्यस्तै, प्रदेश सांसद पुष्पा थरुनीले कानुन फितलो हुँदा बालश्रम अन्त्य गर्न अप्ठ्यारो भएको बताइन् । नेपालका इँटा उद्योगमा २ लाख ५० हजार मजदुर कार्यरत छन् । त्यसमा भारतीय मजदुर पनि छन् ।











