२४ असार, सिन्धुपाल्चोक ।
दुई वर्षयता सिन्धुपाल्चोक जिल्लामा एकपछि अर्को प्राकृतिक विपत आउन थालेको छ ।
जुरेको भीषण पहिरोको पीडा भुल्न नपाउँदै सिन्धुपाल्चोकबासीले भूकम्पबाट ठूलो क्षति व्यहोर्नुपर्यो । अहिले फेरि भोटेकोशीमा अकस्मात आएको बाढी र विभिन्न ठाउँको पहिरोले जिल्लाबासीमा अर्को विपत आइलागेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा अहिलेसम्म २५ वटा घरमा क्षति पुर्याइसकेको छ । बाह्रबिसेभन्दा माथिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए ।
अझै पनि भोटेकोशीमा बाढी बढ्ने र घट्नेक्रम चलिरहेकाले थप क्षति पुर्याउन सक्ने भन्दै सर्वसाधारणका लागि पूर्वसुरक्षा अपनाउन भनिएको प्रजिअ दुवाडीले बताए । नेपाली सेनाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले बाढीबाट उच्च जोखिममा रहेका तातोपानी गाविसको भ्यानपार्क भन्ने ठाउँबाट ५८ जनालाई उद्धार गरेको छ ।
‘सेनाको हेलीकोप्टर मगाएर भ्यानपार्कका ५८ जनालाई उद्धार गरेर बाह्रबिसेमा ल्याएका छौँ, त्यसमध्ये ४४ जनाले काठमाडौँ जान चाहेकाले गाडी चढाएर पठायौँ, प्रमुख जिल्ला अधिकारी दुवाडीले भने । उद्धार गएर ल्याइएको बाँकीलाई बाह्रबिसेमा स्थानीयवासीको सहयोगमा राखिएको छ ।
बाढीले धेरै ठूलो भौतिक क्षति पुर्याए पनि अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको प्रमुख जिल्ला अधिकारीले बताए । केही दिनदेखिको बाढीले अहिलेसम्म एउटा झोलुंगे पुल र एउटा गाडी गुड्ने बेलिब्रीज पुलसमेत बगाइसकेको छ ।।