इन्द्रेणी संवाददाता
दाङ, ६ जेठ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई जनताको मन जितनाका लागि शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् ।
आज विहान प्रेस संगठन दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले बन्दुकको दम्बमा जनताको मन जित्न नसकिने भन्दै नेता नेपालले बन्दुकबाटै शासन गर्ने सपना नदेख्न चेतावनी दिए ।
लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हाम्रो मुलुकमा बन्दुक देखाएर चन्दा आतंक मच्चाउने कसैलाई अधिकार नभएको भन्दै यसो नगर्न पनि विप्लवलाई नेपालको आग्रह थियो । उनले विप्लवलाई वार्तामा आउन समेत आग्रह गरे ।
उनले राज्यलाई कसैले पनि कमजोर नठान्न आग्रह गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गर्न अहिलेको सरकार सक्षम रहेको बताए । पत्रकारहरुले वालुवाटारको जग्गा प्रकरणमा उठाएको जिज्ञासामा नेता नेपालले दोषीलाई कारवाही हुने धारणा राखे ।











