दीपबहादुर घर्ती
जाजरकोट, २२ असार ।
लहँ गाविस २ थाप्लाको ओरख्यालमा भल नियन्त्रणका लागी नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमवाट लिईएको पेश्कीको फरफारक नहुदै तारजाली खोलाले वगाएको छ । गत १५ गते राती आएको अविल वर्षावाट आएको खोलाले तारजाली वगाएको हो ।
थाप्लाको ओरख्यालमा भल नियन्त्रणका लागी तारजाली भर्ने काममा ३ लाख ५० हजारमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जाजरकोटले ओरख्याल तारजाली भल नियन्त्रण उपभोक्ता समितिसंग सम्झौता गरेको थियो ।
जलवायु परिवर्तन सहयोग कार्यक्रमवाट समितिका अध्यक्ष सचिवले एक लाख ६८ हजार रुपैया पेश्की वुझेर तारजाली खरिद तथा भर्ने काम सम्पन्न गरिसकेको अध्यक्ष नारायण खड्काले वताएका छन् ।
पेश्की वुझेर काम सम्पन्न भईसकेको योजना प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष खड्काले भने–“५० वटा जाली खरिद गरी भरीसकेका थियौं, १५ गते राती आएको खोलाले जाली जगाई दियो अव हामी के गरौं, जम्मा १९, २० वटा मात्र जाली वाँकी छन्, त्यसको पनि प्रहरी मुजुल्का वनाएका छौं, कार्यालयले के गर्छ हाम्रो पेश्की फरफारक गर्छ की गर्दैन, हामीलाई निकै चिन्ता लागेको छ ।”
प्रहरी मुजुल्का, गाउँ विकास समितिको सिफारिस र प्राविधिक मुल्याङकणका आधारमा उपभोक्ता समितिले लिएको पेश्की फर्यौट गर्न सकिने जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक विपिन कडेलले वताएका छन् ।।
