दाङ । दाङ घोराहीमा रहेको बुद्ध हस्पिटल प्रालिमा दुरबिन विधिबाट हर्नियाको अपरेसन  गरिएको छ । दुरविन विधिबाट अपरेसन भएसँगै अब शरीर चिरेर अपरेसन गर्नुपर्ने अवस्थाको अन्त्य भएको उपचारमा संलग्न डा. रमेश बस्नेतले बताए ।

opppघोराही उपमहानगरपालिका ७ सौँडियारका १८ वर्षीय श्रवण नेपालीको हर्नियाको अपरेसन भएको अस्पतालले बताएको छ । अपरेसनपछि आराम गरिरहेका नेपालीले ११÷१२ वर्ष अघिदेखिको समस्याबाट आफू मुक्त भएकोमा खुसी व्यक्त गरे। भारतको चेन्नइमा काम गर्दै आएका नेपालीले काम गर्दा निकै अफ्ठेरो हुने गरेकाले नेपाल आएकोबखत अपरेसन गरेको बताए ।

सर्जन डा. रमेश बस्नेतको नेतृत्वमा खटिएको एनेस्थेसिया डा. सुरेन्द्र कवँर, एनेस्थेसिया सहयोगी नारायणप्रसाद शर्मा र नर्सहरु रोजी भण्डारी, विनिता चौधरी, बेलमती घर्ती, पदमा भण्डारी, पूर्णिमा गाहा, लीला पुनमगरको चिकित्सकको टोलीले हर्नियाको अपरेसन सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

हर्नियाको अपरेसन परम्परागत विधिबाट पहिलेदेखि नै भएको भए पनि दुरविन विधिबाट चितवनभन्दा पश्चिम दाङमा यो नै पहिलो भएको अस्पतालको दाबी छ । हर्नियाका कारण मांसपेसीमा भएको प्वालबाट बाहिर आएको बोसो तथा आन्द्रालाई शरीरभित्रै तानेर मेसिनकै सहायताले प्वाल भएको ठाउँमा जाली राखेर फिक्स गरी उपचार गर्ने गरिन्छ ।

दुरविन विधिबाट जतिसुकै ठुलो हर्नियाको समेत अपरेसन गर्न सकिने उपचारमा संलग्न डा. बस्नेतले बताउनुभयो । एकपटक अपरेसन भएको हर्निया पुनः फर्किए त्यसलाई चिरेर गर्न नमिल्ने हुँदा यो विधि नै सबैभन्दा उपयुक्त र आधुनिक भएको  उनले बताए ।

के हो त हर्निया ?
पेटमा मांसपेशी, बोसो, छाला गरी तीन तह हुन्छन् । विभिन्न कारण मांसपेशीमा प्वालहरु पर्ने र तिनै प्वालहरुबाट पेटको प्रेसर बढ्दा वा खोक्दा पेटभित्रका आन्द्रा तथा बोसोहरु मांसपेशी बाहिरर आउने अवस्थालाईलाई हर्निया भनिन्छ ।

यस्तो अवस्थामा आन्द्रा तथा बोसोलाई छालाले मात्र ढाकेको हुन्छ । प्रेसर बढ्दा बाहिर आउने र सुत्दा भित्र जाने अवस्था रहन्छ । तर समयमै हर्नियाको अपरेसन नगरे वा आन्द्रा मांसपेशीभन्दा बाहिर लामो समयसम्म रहे आन्द्रामा रगतको सप्लाइ बन्द हुन गई आन्द्रा कुहिने अवस्था समेत आउनसक्ने डा. रमेश बस्नेत बताए । यस्तो अवस्थामा आन्द्रालाई काटेर जोड्नुपर्ने अवस्थासमेत आउन सक्छ ।