इन्द्रेणी संवाददाता
दाङ, १० माघ । कृषि तथा पशुपंन्छी विकास मन्त्री चक्रपानी खनाल ‘बलदेव’ ले सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
आजदेखि दाङको घोराहीमा शुरु भएको ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ को उद्घाटन गर्दै मन्त्री खनालले नेपाललको कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै किसानहरुलाई परिचयपत्र र निकट भविश्यमा पेन्सनको समेत व्यवस्था गर्ने बताए । ‘अहिले सरकारको पहिलो प्राथमिकता भनेको कृषि क्षेत्र नै हो’ उनले भने, ‘यस क्षेत्रलाई आधुनिकिकरण गर्दै आत्मनिर्भर बनाउदै किसानलाई परिचयपत्रसहित भविश्यमा पेन्सनको व्यवस्था पनि यही सरकारले गर्नेछ ।’
अहिले सबै चिजमा नेपाल परनिर्भर भएको पोल्ट्री क्षेत्र यस्तो क्षेत्र हो जुनमा नेपाल आत्मनिर्भर भएको बताए । नेपालको कृषि क्षेत्रमा भएको गलत नीतिका कारण नेपालका २८ लाख युवाहरु खाडी मुलुकमा जानुपरेको उल्लेख गर्दै मन्त्री खनालले कृषि क्षेत्रको विकास बाट मात्रै उनीहरुलाई स्वदेशमै रोजगारीको अनुभूति गराउन सकिने उनको भनाइ थियो ।
कृषि क्षेत्रकै सुधारका लागि अहिले आफूले धुलो दुधको आयातलाई प्रतिबन्धित गर्दै बन्द भएका उद्योगलाई सञ्चालनमा ल्याउने प्रयास भएको समेत उनले जानकारी दिए ।
कार्यक्रममा सहभागी सबैलाई स्वागत महोत्सव मूल आयोजक समितिका निर्देशक एवं सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका उपाध्यक्ष मेहन्द्र बुढाथोकीले दाङ पोल्ट्री क्षेत्रमा नेपालकै दोस्रो सफल जिल्ला भएको जानकारी दिदै यो व्यवसायलाई अझ प्रवद्र्धन र बजारिकरण गरेर लैजाने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको जानकारी दिए ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवं सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संसद, राजनीतिक दल, नागरिक समाज, संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना विचार राखेका थिए । कार्यक्रमको सहजीकरण समितिका सचिव चन्दन भण्डारीले गरेका थिए । महोत्सव शुरु हुनुभन्दा पहिले विभिन्न झाँकी सहितको ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो ।












