केशरमान बुढाथोकी
गित संगीत त्यस्तो चिज हो जसले जो कोहिको मन मस्तिष्क च्वास्स छुन सक्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान तर अर्कालाई आनन्द अनुभूति गराउने कलाकार जो कोहि बन्न सम्भब छैन । जो संग जन्मजात असाधारण केही त्यस्ता गुण हुन्छन त्यो मात्र राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन तर स्थापित कलाकार हुन लगातारको त्याग तपस्या हुन जरुरी छ ।

गीत संगीत भन्ने कुरा आफैमा रमाइलो र आनन्दप्रदायक क्षेत्र भएकाले यस क्षेत्रमा यात्रा गर्न खोज्ने हजारौं यात्रीहरु हुन्छन तर ती सबैले सफलताको सगरमाथा भने चढ्न सक्दैनन् । जसका लागि असाधारण क्षेमता हुनुपर्दछ । नेपाली सांगीतिक यात्रामा अनवरत साधना गरेर विश्व रंगमंचमा आफ्नो नाम सफल कलाकारको रुपमा स्थापित गर्न भने केहि सिमित व्यक्तिहरु नै सफल हुन्छन । यी यस्तै सफलता पाएका औंलामा गन्नलायक कलाकारले मात्र चुम्न सगेको सफलताको सगरमाथा चुम्न सफल एक गायिका हुन् कैलालीकी मधु ।

कैलालीको चौमालामा जन्मिएर राजधानीलाई कर्म थलो बनाएकी क्षेत्रीले देशकै सुदुरपश्चिमको रुपमा चिनिने कैलालीको एक दुर्गम गाउँ चौमालामा वाल्यकाल बिताइन । वाल्यकाल देखि नै स्थानीय ठाडो भाका , देउडा गएर गाउँलाइ नै गुन्जायमान पार्ने क्षेत्रीले गाउँका विभिन्न स्थानिय सांगीतिक कार्यक्रम, स्थानीय सांगीतिक प्रतियोगिता र विद्यालय स्तरीय सांगीतिक प्रतियोगितामा सहभागि भएर हमेसा प्रथम स्थान हाँसिल गरिन । स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगितामा कहिल्यै दोश्रो नहुने मधुले प्रतियोगितामा भाग लिएको पत्तो पाएपछि उनलाई चिन्ने जो कोहि पनि उनीसंग प्रतिष्पर्धा गर्न आट गर्दैनथे ।

हरेक दिन ओठमा स्थानिय भाखा गुनगुनाउदै बनपाखामा जाँदा , पानी पधेरो जाँदा होस् वा सडक पेटी पेटी स्कुल जाँदा आउँदा थाह थिएन मधुलाई कुनै दिन आफु नेपाली सांगीतिक आकासको चम्किलो तारा बनेर देश बिदेशमा आफ्नो नाम चम्काउछु भनेर । तर निरन्तर साधनाको परिणाम पश्चात आज मधु राष्ट्रकी एक चर्चित लोक दोहोरी गायिकाको रुपमा स्थापित हुन सफल भएकी छिन । आकर्षक जिउडाल, कसिलो कम्मर र मृग नैनी आँखा भएकी मधु सांगीतिक क्षेत्रमा लागेको छोटो समयमै आम दर्शकको मन जित्न सफल भएकी थिइन ।

कर्ममा विश्वास गर्ने र आफुले गर्ने कर्म अनुसारको फाल पाइने विश्वास गर्ने मधुले सुदुर नेपालको एउटा सानो गाउँमा जन्मिएर राष्ट्र कै एक अब्बल कलाकारको आफुलाई चिनाउन आफुले वाल्यकाल देखिनै कठोर साधना गर्नुपरेको कुरा बताउछिन । आफैमा चन्चले स्वाभाकी मधु गायन क्षेत्रका अलावा नृत्य र मोडलिङमा पनि आफ्नो परिचय दिन सफल भएकी छिन । आफ्ना गीतहरु आफै गाउने र आफै मोडलिङ गर्ने भएकाले मधुले आफुलाई बहुप्रतिभाको धनिको रुपमा परिचित गराउन सफल भएकी छिन ।

करिव १० बर्षको उमेर देखिनै स्थानीय भाका गाउँदै आएकी मधुले गाउँकै स्कुलबाट प्रवेशिका परिक्षा उतिर्ण गरि उच्च शिक्षा हाँसिल गर्न धनगडी सम्म आइन तर सांगीतिक क्षेत्रमा उनको नसा बसिसकेकाले त्यहाँ बाट संगीतमा आफ्नो क्षेमता बिकासको कुनै सम्भावना नदेखेपछि पढाइलाई त्यहि थाती राख्दै मधु राजधानी छिरिन ।
गाउँकी चेली सहरको कुनै अनुभव नभएकाले सुरुसुरुमा उनलाई राजधानीमा स्थापित हुन् निकै संघर्ष गर्नुपर्यो । सरसहयोगको कुरा त् परे जावस बोल्न पनि धौ धौ मान्ने राजधानीको जनजीवन देखेर केहि समय त मधु वाक्क दिक्क भइन तर संगीत क्षेत्रमा लागेको उनको नसाले उनलाई गाउँ फर्कन दिएन अनि गरिन कठोर संघर्ष ।लगातारको साधना पश्चात शास्त्रीय संगीत तथा भोकल कक्षा लिएर उनले “जवानी छल्कियो ” बोलको गीत चर्चित गायक मिलन लामा संग गएर औपचारिक गायन सुरुवात गरेकी क्षेत्रीको यो पहिलो गीतले राम्रै बजार पाएपछि उनि यो क्षेत्रमा थप हौसीइन ।

त्यसपछि ब्युटी ब्युटी , पिरतीमा एकका जस्ता दोहोरी गीतहरु बजारमा लिएकी क्षेत्रीले पछी पछी लोक दोहोरी क्षेत्रमा राम्रै बजार पाइन् । कुनै पनि व्यक्ति सफल र व्यावसायिक कलाकार बन्न स्वर मात्र भएर पुग्दैन भन्ने सोचाइ भएकी क्षेत्रीले गायन क्षेत्रमा स्वर प्रमुख कुरा भए पनि साधना, रुपरङ र प्रस्तुतीकरण पनि उतिकै महत्वपूर्ण भएको बताउछिन । हंकङको सारी , मैनाचारी भुरुरु जस्ता तीज गीत गएर चर्चा क्षेत्रीले हाल सम्म करिव दर्जन बढी आफ्नै लोक दोहोरी तथा तीज गीतहरुमा आफ्नो स्वर दिइसकेकी छिन् ।

कुनै पनि कार्यक्रममा स्टेज चढ्न बितिकै धमकेदार प्रस्तुती दिने गायिका क्षेत्री लाइ आजभोली स्टेज कार्यक्रममा भ्याई नभ्याई छ । गीतसंगीतको उर्वरभूमि सुदुरपश्चिममा जन्मिए पनि कर्मथलो काठमाडौंलाई बनाएकी क्षेत्रीले आफ्नो बाँकी समय पनि यसै क्षेत्रमा लगाउने अठोट गरेकी छिन । गायन क्षेत्रलाई आफ्नो मुख्य पेसा बनाएर जाने निधो गरेकी सफल गायिका मधुको कलाकारिता क्षेत्र मह जस्तै मिठास बनोस हाम्रो पनि शुभकामना ।











