इन्द्रेणी संवाददाता
रुकुम, ८ माघ । जिल्लामा हुने गरेको अप्रिय घटनाहरुमध्ये ८० प्रतिशत घटना मदिरा सेवनकै कारण हुने गरेको भन्दै रुकुम पश्चिममा मदिरा आयातमा पूर्ण रुपमा रोक लगाइएको छ ।

madiraजिल्ला समन्वय समितिले माघ ६ गतेबाट लागु हुने गरी जिल्लामा मदिरा पैठारीमा रोक लगाएको हो । समितिले माघ ५ गते आयोजना गरेको सर्वपक्षीय सर्वदलिय बैठकले जिल्लामा मदिरा आयातमा रोक लगाउने निर्णय गरेको हो ।

बैठकले हाल जिल्लाभित्र बैधानिक रुपमा अनुमति लिएर मदिरा विक्री वितरण गरिरहेका व्यवसायीहरुलाई समेत फागुन १५ गतेसम्म आफूसँग भएको मदिराको स्टक व्यवस्थित गरी खाली गर्न समेत आग्रह गरेको छ । अर्काे निर्णय नहुँदासम्मका लागि जिल्लाभित्र कुनै पनि मदिराको पैठारी नहुँने समन्वय समितिले जनाएको छ । फागुन १५ गतेसम्म मदिरा व्यवस्थापन गर्नु पर्ने र १६ गतेदेखि महिरामा पूर्ण रोक लगाइने छ ।

तर एक्कासी जिल्लालाई नै स्थानीय सरकारले मदिरा आयातमा प्रतिबन्ध गरेपछि केही व्यवसायीहरुले विरोध पनि गरेका छन् ।  जिल्लामा विक्री वितरण हुने मदिराले यहाँको आर्थिक, राजनीतिक तथा संस्कृतिक क्षेत्रलाई पनि असर पारेकाले स्थानीय सरकारले मदिरा नियन्त्रणबारेमा गरेको निर्णय सकारात्मक नै रहेको व्यवासायी एवं नेपाल होटल व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य वसन्त खड्काले बताए । ‘हामी सरकारको यो अभियानमा नकारात्मक छैनौं’, उनले भने, ‘तर अहिलेको निर्णयमा जिल्लामा रहेको स्टक मदिरालाई व्यवस्थापन गर्नका लागि समय थोरै भयो भन्ने हाम्रो गुनासो हो ।’