दाङ, ४ माघ । दाङको घोराहीमा आज शुक्रवारदेखि दोस्रो मेयरकप रनिङ फुटवल प्रतियोगिता शुरु भएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा भरतपुर खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।

nagarप्रतियोगिताको उद्घाटन शैक्षिक क्षेत्र तथा खेलकुद क्षेत्रका अग्रज नारायणसिंह गुरुङले गरेका हुन् । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख गुरुङले मानसिक र शारिरीक स्वस्थताका लागि खेल महत्वपूर्ण भएको विचार राखेका थिए ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले खेल र युवा एक अर्काका परिपुरक भएको उल्लेख गर्दै अनुशासन र स्वास्थ्यका लागि खेल अपरिहार्य भएको बताए ।

कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रबक्ता भरत अर्याल र जिल्ला फुटवल संघका अध्यक्ष शुसिल श्रेष्ठले खेलले अनुशासन र शारिरीक फुर्ती प्रदान गर्ने बताएका थिए । प्रतियोगितामा नगरपालिका १९ वटै वडाका खेलाडीहरु सहभागी हुने छन् ।