सिन्धुपाल्चोक, ३ माघ । नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ ।
चीन सरकारको एक अर्ब २० करोड लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।
चिनियाँ ठेकेदार निर्माण कम्पनी सीआरसीसीले दिएको जानकारी अनुसार बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोष्ट, बैङ्क, आवास निर्माण, ग्राउन्डलगायतका संरचना निर्माण सम्पन्न भएका छन् ।
गोदाम घरमा १५८ ठूला कन्टेनर एकैचोटी राखेर जाँचपास गर्न सकिनेछ ।भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चीनले मे महिनामा नाका खुलाउन बन्दरगाह निर्माण कार्यलाई तीव्र ढङ्गमा अगाडि बढाइएको बताए ।
अत्याधुनिक उपकरणबाट बन्दरगाह निर्माण कार्य हुँदै आएको छ गोरखापत्रमा खबर छ। भोटेकोसी गाउँपालिका लार्चामा निर्माण भएको बन्दरगाहमा जोड्ने पुलको दुई साइडमा जिप तयार गरी पुल हाल्ने तयारी पनि अन्तिममा पुगेको छ ।
सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालका अनुसार बन्दरगाहको माथिल्लो क्षेत्रमा बन्ने पार्किङ र बन्दरगाह जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।











