इन्द्रेणी संवाददाता
जाजरकोट, २४ चैत्र
जाजरकोटको दशेरा ३ स्थित जनप्रिय उच्च माविमा प्रवेशिका परिक्षा केन्द्रमा फैलिएको झाडावान्ता रोक्न उपचार कार्य जारी राखिएको छ । परीक्षा दिन गएका शिक्षक, विद्यार्थी र स्थानीयलाई झाडावान्ताको सङ्क्रमण देखिएपछि छिमेकी गाविसका स्वास्थ्यकर्मी परिचालन गरी उपचार कार्य जारी राखिएको हो ।
हिजो वेलुकी सम्म ९९ सय जना झाडावान्ताका बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी ‘फोकल’ पर्सन कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । शिक्षक, विद्यार्थी र स्थानीय अभिवावकलाई समेत झाडावान्ता प्रकोप देखिएको छ । दशेरा स्वास्थ्य चौकी प्रमुख नवीना कँडेलका अनुसार सदरमुकामबाट औषधि पठाउन अस्ती नै अनुरोध गरे पनि औषधीसहित स्वास्थ्यकर्मीको टोली दिउँसो मात्र जाँदैछ ।
विद्यार्थीको चापसँगै दशेरामा खानेपानीको अभावका कारण निकै समस्या भएको छ । चौपाया र मानिसले एकै ठाउँमा पानी खाँदा पानी फोहर भएर विरामीहरु वढेको स्थानीयले बताएका छन् । यसैविच, ओखलढुंगाको सिस्नेरीस्थित कालिका उच्च मावि परीक्षा केन्द्रमा फैलिएको भाइरल ज्वरोका कारण ७० परीक्षार्थी बिरामी परेका छन् । बिरामि भएका विद्यार्थीहरु परीक्षा दिन नसक्ने अवस्थामा पुगेको विद्यालयले जनाएको छ ।।
