इन्द्रेणी संवाददाता
असार २० घोराही । तुलसीपुर–अमेलिया सडक खण्डको भञ्ज्याङमा ट्रक पल्टिदा दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ५७९२ नम्वरको ट्रक भञ्ज्याङमा पल्टेको हो ।
घाइते हुनेमा ट्रकका चालक बाँके कोहलपुर निवासी ४० वर्षिय खेमबहादुर शाही र सहचालक दैलेख जिल्ला बराह–६ निवासी १९ वर्षिय टेकबहादुर विक रहनुभएको छ । प्रहरीले जानकारी दिएको छ ।
घाइते मध्ये चालक शाहीको दुर्घटनाको तीन घन्टा बित्नै लाग्दा पनि होस खुलेको छैन । सहचालक विकको बाँया खुट्टा र हात भाँचिएको भए पनि उहाँको अवस्था भने खतरा मुक्त रहेको छ । दुवै घाइतेको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आज बिहान साढे ६ बजेतिर ट्रक पल्टिएको थियो ।
