सल्यान, ४ मंसिर । सल्यान कपुरकोट गाउँपालिकाभित्रका विद्यालयमा भौतिक पूर्वाधारको अभाव देखिएको छ । भवन, सौचालय, फिल्ड, तारवार लगाएतका पूर्वाधार निर्माण हुन नसक्दा पठनपाठनमा समस्या देखिएको छ ।
सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर ६ का तीन विद्यालयमा पुगेका गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले विद्यालयहरु समस्याका विचबाट सञ्चालन भइरहेको देखिएको जनाए । शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीसंग अनुगमन, निरिक्षण तथा अन्तरक्रियाका लागि विद्यालयहरुमा पुगेका अध्यक्ष सेनले आफ्नो ध्यान अझ बढी शिक्षा क्षेत्रको सुधारमा केन्द्रीत भएको बताए ।
उनले शिक्षकहरुलाई नियमित विद्यालय पुगेर प्रभावकारी ढंगले शिक्षण गर्न निर्देशन दिदै अभिभावकहरुलाइ पनि आफ्ना बालवालिकाको पढाइप्रति चासो राख्न आग्रह गरे । उनले भने, ‘विद्यालयमा विभिन्न समस्या छन्, हामी क्रमशः ती समस्या समाधान गर्दै जान्छौँ । तपाइँ शिक्षकहरुले इमान्दार पूर्वक आफ्नो कर्तव्य पुरा गर्नुस् ।’ नियमित विद्यालय नआउने शिक्षकलाइ कारवाहि गरिने जनाउँदै अध्यक्ष सेनले विद्यालय छाड्ने विद्यार्थी कहाँ ग एभनेर खोजी गर्न विद्यालयलाइ आग्रह गरे ।
शिक्षा क्षेत्रमा लापरवाही भयो भने विद्यार्थीको भविष्य चौपट हुने र समाज सधै पछाडी पर्ने भएकाले गम्भिर बन्न आवश्यक रहेकोमा उनले जोड दिए । कपुरकोट ६ सिनवाङमा रहेको सिद्ध आधारभुत विद्यालय ढाँर, भवानी मावि छाँयानाथ र सरस्वती आधारभुत विद्यालय रातामाटामा पुगेका सेनले विद्यालय नजीकमा मदिरा पसल सञ्चालन गर्न, जुवा, तास, क्यारेम बोर्ड खेल्न प्रतिवन्ध लगाउन विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षलाइ निर्देशन समेत दिए ।
