काठमाडौं, २२ असोज । निर्मला पन्तको बलात्कारपछि पानीमा घोप्टो पारेर छाडिएकाले मृतकको शवमा शुक्राणु नै नभेटिएको खुलासा छानबिन समितिले गरेको छ । प्रमाण लोप हुने गरी चलाखीपूर्वक अपराधीले यो सब गरेको टिप्पणी समितिको छ ।

nirmalaसमितिको प्रतिवेदनमा भनिएको छ, ‘लासलाई पानीमा घोप्टो पारेर फालिएकाले कुनै दसी–प्रमाण लिन नसकिने गरी घटना अन्त्य गराई नियोजित रूपमा उखुबारीमा फालिएको देखिन्छ । वारदात त्यहीँ भएको भए मृतकको मुखमा माटो र फोक्सोमा पानीको मात्रा हुनुपथ्र्यो ।’

अर्को बुँदामा प्रतिवेदन भन्छ, ‘महाकाली अञ्चल अस्पतालमा भएको शव परीक्षणको रिपोर्टमा मृतकको यौनांगमा शुक्राणु नदेखिएकाले निश्चित गर्न केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउने भनिएको थियो । मृतकलाई पानीमा घोप्टो पारी प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्ण भएको देखिन्छ ।’

निर्मलाको शवबाट संकलित नमुना विधिविज्ञान प्रयोगशाला पठाउने भनिए पनि प्रहरीकै प्रयोगशालामा सीमित राखिएको छ । अन्य आरोपीको मात्र नमुना विधिविज्ञान प्रयोगशाला पठाइएको थियो । अहिलेसम्म कसैको पनि ‘म्याच’ गरेको छैन ।

अनिताको ट्युसनले बढायो शंका

बबिता भनिने स्थानीय अनिता बमले घटनाको दिन आफू ट्युसन पढ्न गएको दाबी गर्दै आएकी छिन्, जसमा छानबिन समितिले प्रश्न उठाएको छ । स्थानीय मिराई एजुकेसन भिसा सेन्टरमा ट्युसन पढ्ने बबिताले त्यो दिन आफू विद्या पन्तसँग कक्षामा बसेर पढेको बताएकी छिन् । पन्तले भने त्यो दिन बबिता सँगै थिइन् भनेर यकिन गर्न सकेकी छैनन् ।

एजुकेसन सेन्टरका प्रिन्सिपल बाबुराम रावतका अनुसार प्रहरी अनुसन्धान सुरु भएपछि बबिता र उनका बाबु आएर सो दिन बबिता ट्युसन पढ्न आएकी थिइन् भनेर प्रहरीलाई भनिदिन आग्रह गरेका थिए । बबिताले आफ्ना साथीहरूलाई पनि सो दिन आफू कक्षामा आएको भनिदिन अनुरोध गरेकी थिइन् । तर, प्रिन्सिपल र विद्यार्थीले आफूहरूलाई यकिन नभएको बताएका छन् ।

अम्बा र साइकलमा पनि शंका

निर्मलाले बबिताको घरबाट अम्बा लगेको बताइएको छ । अम्बाको पोका भने जस्ताको तस्तै भेटिएको थियो । जबर्जस्ती साइकल पल्टाएर लगेको अवस्थामा अम्बा बोकेको प्लास्टिक नच्यातिएको हुनाले अम्बा पनि पछि फालिएको प्रतिवेदनको टिप्पणी छ ।

तर, प्रहरीले बनाएको मुचुल्कामा अम्बाको प्रसंगसमेत छैन । अम्बाको प्रसंग प्रहरीले किन लुकाउन खोज्यो भन्ने विषयमा पनि समितिले प्रश्न उठाएको छ । साथै, घर फर्कने क्रममा बाटामा साइकलको चेन बिग्रिएपछि चेन बनाइदिने नाममा दिलीपसिंहले बलात्कार गरेको तत्कालीन अनुसन्धान अधिकारीको भनाइ थियो ।

तर, साइकल बिग्रिएको भए सुरुमा निर्मलाले आफैँ बनाउन प्रयास गर्ने र उनको हातमा कालो लाग्नुपर्ने समितिको भनाइ छ । तर, प्रहरीले यो विषयमा ध्यानै नदिई मुचुल्का बनाएको छ ।

बरामदी मुचुल्का नै परिवर्तन

मृतक निर्मलाले लगाएको कपडा प्रहरीले नै लगेको भन्ने पीडित परिवारको भनाइ छ । प्रहरीको मुचुल्कामा कपडा पनि बरामद गरिएको उल्लेख छ । तर, अहिले ती कपडा प्रहरीसँग छैनन् । यति ठूलो अपराधको अनुसन्धान पूरा नहुँदै कपडा किन जलाइयो भन्ने प्रश्न अनुत्तरित छ ।

घटनाको अनुसन्धानमा प्रहरीको अर्को शंकास्पद भूमिका समितिले फेला पारेको छ । ८ भदौमा समितिले बरामदी मुचुल्कामा अपराधीको भनेर नीलो कट्टु, नीलो गन्जी, खैरो हाफ जिन्सपाइन्ट केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । फेरि १० भदौमा बरामदी मुचुल्काको नमुना फरक पर्न गएको भनेर कपडाको रङ उल्लेख नगरी अर्को पत्र पठाइएको थियो ।

‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ८ भदौमा पठाइएको पत्रलाई प्रतिस्थापन हुने गरी १० भदौमा पठाइएको पत्रमा सेन्डो गन्जी हुनुपर्नेमा नीलो रङको सेन्डो गन्जी हुन गएको र हाफपाइन्ट हुनुपर्नेमा खैरो रङको हाफपाइन्ट हुन गएकाले पत्र र नमुना सच्याइदिन अनुरोध गरिएको देखिन्छ,’ समितिको प्रतिवेदनमा छ ।

बरामद गरिएको हाफपाइन्ट र गन्जीको रङसमेत अलमल गराउने प्रहरीले यति जघन्य अपराधको अनुसन्धान इमानपूर्वक गर्ला भन्नेमा प्रश्नै छ । स्थानीयका अनुसार पछि दिलीपसिंह विष्टको घरमा नासपाती खाने निहुँमा गएर फरक कपडा बरामद गरिएको थियो ।

एसपीका छोराको जन्मदिन नै शंकास्पद

क्ञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले त्यस दिन महेन्द्रनगरको ओपेरा होटेलमा फोटोसुट गरेको बताएका छन् । बेलुका साथीहरूसँग जन्मदिन मनाएको उनको भनाइ छ । तर, नागरिकतामा किरणको जन्मदिन १० वैशाख छ । त्यस्तै, उनको फेसबुकमा कसैले शुभकामना दिएका छैनन् । त्यस्तै, होटेलमा आएका दुई युवतीलाई नचिनेको उनले बताएका छन् ।

प्रहरीविरुद्ध मुद्दा चलाउन केसीको राय

छानबिन समितिका सदस्य वीरेन्द्र केसीले प्रतिवेदनमा थप राय राख्दै अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीलाई मतियारका रूपमा मुद्दा चलाउन राय दिएका छन् । मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ को ख र दफा ८९ बमोजिम मुद्दा चलाउनुपर्ने राय दिएका हुन् ।

दफा ३६ को खमा कुनै कसुर गर्ने नियतले त्यस्तो कसुर वा अन्य कसुर गर्न सहयोग पुर्‍याउने वा कसुर गरिसकेपछि कसुरदारलाई भगाउने, लुकाउने वा कसुर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पुर्‍याउने व्यक्ति मतियार मानिने उल्लेख छ । जसमा मुख्य अभियुक्त हुने सजायको बढीमा आधासम्म सजाय हुने प्रावधान छ ।

त्यस्तै दफा ८९ मा सार्वजनिक न्यायविरुद्धको कसुरमा झुटा प्रमाण बनाउन कारबाही हुने प्रावधान छ । जसअनुसार अनुसन्धानमा आबद्ध प्रहरीले झुटा प्रमाण बनाएकाले मुद्दा चलाउनुपर्ने उनको राय छ। ज्समा ५ वर्षसम्म् कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

अनुसन्धानमा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित, डिएसपी ज्ञानबहादुर सेटी, इन्सपेक्टरहरु जगदिश भट्ट र एकेन्द्र खड्का तथा सई रामसिंह धामी निलम्बनमा परिसकेका छन् ।

तल्लो तहका थप केही प्रहुरीलाई एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले निलम्बनको निर्णय गरिसकेको छ । उपसचिव केसीको रायमा अन्य अधिकारी भने सहमत थिएनन् । उनीहरुले विभागीय कारबाहीको मात्र सिफारिस गरेका छन् ।

यस्ता छन् समितिले औल्याएका प्रहरीका गल्ती

१- निर्मलालाई खोजिदिन आग्रह गर्दा वडा प्रहरी कार्यालयका प्रहरीले ‘दिउँसो ११ बजे हराएको अहिले खबर गर्ने हो रु’ भनेर उल्टो हप्काएको । जिल्ला प्रहरी कार्या र सालघारी अस्थायी पोष्टमा जानकारी गराउँदा पनि सुनुवाई नगरेको ।

२- स्थानीय मागअनुसार बबिता र उनकी बहिनालाई पक्राउ गरेर छानबिन गर्न माग हुँदा धेरै दिनसम्म पनि त्यसमा चासो नदिएको

३- अनुसन्धानमा तामिलप्राप्त कुकुर प्रयोग नगरेको

४- घटनास्थलमा भेटिएको प्लाष्टिकको झोलामा रहेको अम्बालाई बरामदी मुचुल्कामा उल्लेख नगरिएको

४- निर्मलाका कपडा पानीमा धोएर प्रमाण नष्ट गरेको ।
नयाँ पत्रिकाबाट