काठमाडौं । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासाथ आज २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ।
सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरी हरेक वर्ष आजकै दिन राष्ट्रिय धान दिवस मनाउँदै आएको हो।
यस वर्ष समयमा वर्षा नहुँदा आधा असार सकिन लाग्दा पनि धान रोपाइँ भने न्यून छ। कृषि विभाग अनुसार हालसम्म असारसम्म मुलुकभर ११ दशमलव ३३ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष सो अवधिमा १५ दशमलव ६ प्रतिशत धान रोपाइँ भएको थियो । आजकै दिन दही चिउरा खाने चलन पनि छ । आजको दिनलाई किसानहरुले मानो छरेर मुरी उब्जाउने दिनको रुपमा पनि लिने गर्दछन् ।
कुन प्रदेशमा कति रोपाइ भयो
कृषि विभागको तथ्यांक अनुसार १२ असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२ दशमलव ८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा २० दशमलव ९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेशमा १२ दशमलव ७ प्रतिशत अर्थात् ११ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
यस्तै बागमती प्रदेशमा १२ दशमलव ६ प्रतिशत अर्थात् १४ हजार ४२० हेक्टर क्षेत्रफलमा, सुदूरपश्चिममा ९ दशमलव ३ प्रतिशत अर्थात् १५ हजार आठ सय हेक्टरमा र कोशी प्रदेशमा ८ दशमलव ३ अर्थात् २२ हजार ८१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। सबैभन्दा कम मधेश प्रदेशमा पाँच प्रतिशत अर्थात् १९ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको विभागले जनाएको छ।
३८ अर्बको धानचामल आयात
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा झन्डै ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ। साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख ६२ हजार रुपैयाँको धानचामल आयात भएको छ। गत वर्ष सो अवधिमा ३८ अर्ब ९४ करोड २८ लाख रुपियाँको धानचामल आयात भएको थियो।
चालु आवको ११ महिनामा १८ अर्ब ५३ करोड ६६ लाख रुपैयाँ बराबर चार लाख ६४ हजार १०२ मेट्रिक टन धान आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब ९४ करोड ७१ लाख बराबरको पाँच लाख २३ हजार ८३९ मेट्रिक टन धान आयात भएको थियो। ११ महिनामा १९ अर्ब ३० करोड २६ लाख १० हजार बराबरको दुई लाख ४७ हजार ४१८ मेट्रिक टन चामल आयात भएको छ।











