पीडाको आगो सहेर
प्यारको चिसो बतास कसरी बहाउछौ तिमी?
गर्भमा ज्वालामूखी बोकेर
कसरी छर्छौ त्यो मुहारमा कान्ति?

कसरी सहन सक्यौ तिमीले
काखमा एटम बमले तिम्रा लाखौँ सन्तान नासिदा
कुन मातृशक्ति छ तिमीमा
जसले हेरिरहनु पर्छ हरेक पल
भुइचालोको विध्वंसले सन्तानको बिचल्ली
कुन आँचल ओढाइरहेछ्यौ
हरेक सुनामीले कठ्याङ्ग्रिएको गाउँलाई
कुन लोरीले लोलाउछन् ती तर्सिरहेका आँखाहरू

प्रिय फूजी!
तिमी ढुङ्गा र माटोको पर्वत मात्र होइन रहेछौ
तिमी त सिंगो देश नै रहेछौ
-अनुशासन र ईमानको
– धैर्य र पसिनाको
र त मुस्कुराइरहेछन्
हर भुकम्पपछि पनि ती आँखाहरू
र त फूलिरहेछन्
हर सुनामी पछि पनि ती बगैचाहरू
र त मुर्झाइरहेछन्
हर बिनास पछि पनि ती आविष्कारहरू।

प्रिय फूजी!
भन के सन्देश लिएर जाऊँ
मेरो सगरमाथाको लागि?