उदय बीसी
दाङ, २७ साउन । दाङको धार्मिक पर्यटकिय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीमा पर्यटन विकास लागि झण्डै ९० करोड वढीको गुरुयोजना बन्दैछ ।

dharpaniयसअघि ७० करोडको गुरुयोजना बनाएर काम अगाडि वढाइए पनि त्यसमा केही छुटेका हुँदा नयाँ पूर्वाधारलाई समेटदै नयाँ गुरुयोजना निर्माणको तयारी भइरहेको पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए । ‘पहिले गुरुयोजनामा केही छुटेका थियो त्यसलाई समेटदै नयाँ गुरुयोजना बनाउने तयारीमा छौं’ उनले इन्द्रेणी अनलाइनसँग भने ।

७० करोडको गुरुयोजनाअन्तर्गत ॐ पोखरी, १ सय ८ गौमुखी धारालगायतका केही भौतिक संरचना निर्माण भइसकेका छन् । अब बन्ने नयाँ गुरुयोजनामा मन्दिरको उत्तरतर्फ करीव ४ विगाह क्षेत्रफलमा वोडिङसहितको तलाउ निर्माण गरिनेछ । त्यस्तै सुनकोट डाँडोसम्म ४ हजार ९ सय ६३ सिडी निर्माण, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वसपरको वन संरक्षणलगायतका काम हुने सचिव आचार्यले बताए । गुरुयोजना निर्माणका लागि कानुनी प्रक्रियाको काम भइरहेको उनले जानकारी दिए ।

यो गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि वढाइने छ । प्रदेश नम्बर ५ ले यहाँको विकासका लागि ५ करोड बजेट समेत विनियोजन गरेको छ ।
ऐतिहासिक तथा धार्मिक महत्वले निकै वैभव मानिने धारापानी करिब पाँच वर्ष यता धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

स्थानीयको नेतृत्वमा मन्दिर परिसरमा ५५ दशमलव ५ फिट उचाइ रहेको विश्वकै ठूलो त्रिशूल, १ सय ८ शिवलिङ्ग, १ सय ८ वरपीपल जोडी, १ सय ८ समीको वृक्ष, ॐ कुण्ड, पाण्डव शैयन शिला संरक्षण मन्दिर परिसरको साजको वृक्ष, ठूलो शिलामा कुँदिएको शिलामा विष्णुपादुका जलकुण्ड छ विभिन्न देवी देवताको मन्दिरसंगै मनोराम चुरेको काखमा अवस्थित जंगल अनि उत्तरतर्फको सुन्दर दाङ उत्पत्यका बबई(सरयू) नदीको मनोमोहक फाँट रहेको छ । यी दृष्य अवलोकन गर्न वर्षेनी ५ लाख वढी मानिसहरु आउने गरेको बताइन्छ ।