काठमाडौं, २३ साउन। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलार्इ प्रहरीले पक्राउ गरेको छ । स्रोतका अनुसार प्रकाण्डलार्इ प्रहरीले थानकोटबाट पक्राउ गरेको हो ।

parkandमहानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रकाण्डसहित चन्द्र आचार्य र मानबहादुर श्रेष्ठ पनि पक्राउ परेको जानकारी दिए । श्रेष्ठ प्रकाण्डका गाडी चालक हुन् । पोखरेलले उनीहरुलाई काठमाडौंको दक्षिणमा रहेको चाल्नाखेलबाट पक्राउ गरिएको जानकारी दिए ।

यसैबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् । विप्लवले जारी गरेको विज्ञप्तिमा साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ।

विप्लवले काठमाडौँको दक्षिणकालीबाट स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको दावी पनि गरेका छन् ।