काठमाडौं, २० साउन। कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि विदा बसेका छन् । संसदीय सुनुवाइ विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेपछि उनी राजीनामा नदिई बिदा बस्न लागेका हुन् ।
कामु प्रधानन्यायाधीश जोशीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस नगरेसम्मका लागि भनेर उनी बिदामा बस्न लागेका हुन् ।
संसदीय सुनुवाइ विशेष समितिले शैक्षिक प्रमाणपत्र विवाद, विवादास्पद फैसला तथा सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै शुक्रबार जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय गरेको थियो । राजधानीमा खबर छ उनलाई राजीनामा दिनसमेत अप्रत्यक्ष रूपमा दबाब दिइएको छ ।
सर्वोच्च स्रोतका अनुसार आइतबारदेखि मर्यादाक्रममा उनीपछिका न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्नेछन् । यद्यपि, उनले पनि जोशीले जस्तै कतिपय विवादास्पद फैसला गरेका छन् ।











