काठमाडौं, २० साउन । नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालका साथमा नेपाली चेली । उद्धार गरिएका ६८ मध्ये १६ जनालाई काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइयो । ३६ जनालाई शनिबार दिल्लीबाट भैरहवातर्फ पठाइएको छ । बाँकी १६ जना मंगलबार दिल्लीबाट आउँदै छन् ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए । उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा ३९ युवती भेटिएका थिए । पहाडगन्जमा सुरुमा ५२ जना महिला भेटिएका थिए ।
तीमध्ये १३ जना स्वेच्छाले दिल्ली पुगेको र त्यहीँ रहने पुष्टि भएपछि उनीहरूलाई छाडिएको थियो । बाँकी ३९ जनामध्ये तीनजनाले दिल्ली महिला आयोगको सेल्टर होममा बयान बदलेका थिए । उनीहरू स्वेच्छाले दिल्ली पुगेको र त्यहीँ रोजगारीका लागि बस्न चाहेको प्रमाणित भएपछि बाँकी ३६ जनालाई मात्रै शनिबार नेपाल फर्काइएको प्रवक्ता ओडारीले जानकारी दिए ।
मंगलबार जहाजबाट काठमाडौं ल्याइएकामाथि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान गरिरहेको छ । दूतावासका काउन्सलर पुरुषोत्तम कँडेलले उनीहरूलाई काठमाडौं ल्याएका हुन् । मैदानगढीमा भेटिएका १६ जनालाई माइती नेपाल र रेस्क्यु फाउन्डेसन दिल्लीको जिम्मा लगाइएको छ । उनीहरूलाई पनि केही दिनभित्रै काठमाडौं ल्याइने जानकारी दूतावासले दियो । हाल उनीहरू दिल्ली महिला आयोगको सेल्टर होममा छन् ।
दलाल पक्राउ परेपछि पु(याइयो वनासरबाट दिल्ली
दिल्लीको मैदानगढीमा भेटिएका १६ जना महिलालाई वनारस हुँदै दिल्ली लगिएको थियो । तर, वनारसमा १ सय ५० नेपाली महिलालाई बन्धक बनाएको पुष्टि नभएको दूतावासले जनाएको छ । वनारसमा स्थानीय प्रहरीले छापा मारेको थियो । तर, प्रहरीले नेपाली फेला पर्न नसकेको जानकारी दिएको र प्रहरीलाई थप निगरानी बढाउन आग्रह गरिएको प्रवक्ता ओडारीले बताए ।
२ साउनमा अमर उजाला पत्रिकाले वनारसमा नेपाली युवतीलाई बन्धक बनाइएको समाचार सार्वजनिक गरेको थियो । त्यसपछि विभिन्न स्थानमा छापा मारेर प्रहरीले ६ जना सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो । नेपाली युवतीलाई देहव्यापारमा समेत संलग्न गराएको उजुरीका आधारमा स्थानीय जय सिंह (पप्पु) नामका व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनी भारतीय जनता पार्टीनिकट रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । असार दोस्रो साता वनारसमा राखिएका नेपाली युवतीलाई पप्पु पक्राउ परेपछि दिल्ली पु(याइएको थियो ।
अमर उजालाका अनुसार वनारसबाट साउदी अरबको साहजहाँ जान लागेका युवतीलाई दुईपटक फकाइएको छ । एकपटक ४७ जना र अर्कोपटक दुई दर्जन नेपाली युवतीलाई विमानस्थलबाट फिर्ता गरिएको प्रहरीलाई उद्धृत गर्दै अमर उजालाले ३ साउनमा समाचार प्रकाशित गरेको छ ।
नेपाली दलालले नै दिल्ली पु(याए
नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ । उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पु(याएको बयान दिएका छन् । उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘एक हप्ताकै बीचमा ७१ जना नेपाली युवती दिल्लीमा फेला पर्नुको कारण देशभित्रै खोज्नुपर्छ, हाम्रो सीमा प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने अवस्था देखियो,’ नेपाली दूतावासका प्रवक्ता ओडारीले टेलिफोनमा नयाँ पत्रिकासँग भने । पछिल्ला २ वर्षमा वनारसबाट सयौँ नेपाली महिला साउदी लगिएका छन् । नयाँ पत्रिकाबाट











