सल्यान, २६ असार । सल्यानको कपुरकोट गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को बजेट तथा नीति कार्यक्रम पारित भएको छ । बजेटले जनताको आधारभुत आवश्यकतालाई सम्बोधन गर्दै दिगो विकासलाई जोड दिएको भनेर दावी गरिएको छ । उपप्रमुख तिला बुढा मगरले गत असार १० गते प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट गाउँसभाले सोमबार सर्वसहमत रुपमा पारित गरेको हो ।

PARITसामाजिक विकासतर्फ खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई, खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न योजनाका लागि २ करोड ५० लाख ५५ हजार रुपैयाँ पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।

यस्तै संस्थागत विकास तथा सेवा प्रवाहमा १ करोड ९६ लाख २० हजार, गाउँपालिकाको भवन निर्माण, विभिन्न सडक निर्माण, विद्युत विस्तारका लागि पूर्वाधार विकास शिर्षकमा ५ करोड ५८ लाख ४० हजार रुपैयाँ गाउँसभाले पारित गरेको छ । गाउसभाले वित्तिय व्यवस्थापन र सुशासनका लागि ८५ लाख, आर्थिक विकासतर्फ ८६ लाख १५ हजार र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४४ लाख ३५ हजार रुपैँयाको बजेट पारित गरेको छ ।

कपुरकोटको गाउँसभाले जग्गा प्लटिङलाइ व्यवस्थित गर्ने, एकिकृत सम्पत्ति कर मुल्यांकन प्रक्रिया अगाडि बढाउने, करार कर्मचारीहरुको करारनामा थप गर्ने, वडा कार्यालयहरुको भवन निर्माण तथा विभिन्न ठूला योजनाहरु सञ्चालनका लागि केन्द्र र प्रदेश सरकार समक्ष माग गर्ने लगायतका विभिन्न १३ वटा नीतिगत निर्णयहरु पारित गरेको सूचना अधिकारी जीवराज खत्रीले बताए ।