हेमन्त केसी
जाजरकोट, १२ असार । पश्चिम रुकुमको चौरजहारीस्थित विमानस्थल १३ महिनादेखि बन्द छ। १३ महिनादेखि हवाई सेवा सञ्चालन नहुँदा स्थानीय बासिन्दा एवं बिरामी मर्कामा परेका छन्।

chaujahariउडानका लागि जहाज अपुग भएको भन्दै हवाई सेवा बन्द गरिएको हो। नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखे पनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो। यो विमानस्थल रुकुममा भए पनि सेवासुविधा जाजरकोटले पनि लिने गरेको थियो।

गत वर्षको जेठ दोस्रो सातादेखि बन्द हवाईसेवा अहिलेसम्म सञ्चालन नहुँदा यस भेगका बासिन्दा मर्कामा परेका हुन्। उडान बन्द हुँदा डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका स्थानीय यात्रु तथा बिरामी समस्यामा परेको स्थानीय गोपाल रेग्मीले बताए।

चौरजहारी विमानस्थलबाट हुने हवाई सेवा बन्द भएपछि सिकिस्त बिरामी र जटिल खालका गर्भवतीलाई कच्ची बाटोमा जोखिम मोलेर गाडीमा लैजानुपर्ने बाध्यता रहेको चौरजहारी अस्पतालका प्रशासक डीलवहादुर गिरीले बताए।

दुर्गममा स्वास्थ्य सुविधा राम्रो नहुने हुँदा जटिल खालका बिरामीलाई तत्काल हवाई जहाजबाट सुविधासम्पन्न अस्पतालमा लैजान सजिलो हुन्थ्यो। तर हवाई सेवा बन्द भएपछि अशक्त र बिरामीले निकै सास्ती पाइरहेका छन्। अस्पताल प्रशासक गिरीले भने, ‘तत्काल चौरजहारी विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न सरकार सँग माग गर्छु।’

यसअघि चौरजहारीवाट नेपालगञ्ज र काठमाडौं उडान भर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले सेवा परिवर्तन गरेर प्रत्येक बुधबार काठमाडौं(नेपालगञ्ज(चौरजहारी र प्रत्येक बिहीबार नेपालगञ्ज(चौरजहारी(काठमाडौं उडान भर्ने गरेको थियो।

रुकुमको सल्ले विमानस्थलमा उडान थप गरेको र चौरजहारीमा १३ महिनाअघि उडान कटौती गरेर सेवा बन्द गरेको थियो। निगमले सेवा बन्द गरेपछि यस क्षेत्रका बासिन्दा निकै मर्कामा परेको चौरजहारी नगरपालिका नगरप्रमुख विशाल शर्माले बताए।

चौरजहारीमा हवाई सेवा सुरु गर्न विभिन्न निकायमा पहल गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। उडान बन्द हुँदा डोल्पाको शे(फोक्सुन्डो जाने पर्यटक समेतलाई समस्या परेको स्थानीय बासिन्दाले बताएका छन्। नेपाल वायुसेवा निगम चौरजहारीका इञ्चार्ज सुरेन्द्र नेपालीले जहाज कम भएका कारण हवाई सेवा लामो समय बन्द भएको बताए।

‘अहिले पनि उडान तालिका कटौती भएको छैन। नेपाल वायुसेवा निगमसँग एउटा मात्र जहाज भएकाले समस्या भएको हो थप अर्को जहाज ल्याउने प्रक्रियामा छ,’ उनले भने, ‘आउनेबित्तिकै सेवा सुरु हुन्छ।’ साढे चार करोड रुपैयाँ लागतमा चार वर्षअघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो।