काठमाडौँ, ३ असार । आज संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दैछ । संयुक्त बैठक तथा समिति सञ्चालनको नियमावली पारितका लागि बैठक बस्ने लागेको हो । यसअघि जेठ २८ गते संयुक्त बैठक आह्वान भए पनि प्रक्रियागत त्रुटि भएको भन्दै अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएको थियो ।
संयुक्त बैठक आज दिउँसो ४ बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संयुक्त बैठक आह्वान गरिसकेकी छन् । संविधानको धारा ६६ (२) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुबै सदनको संयुक्त बैठक आह्वान गरेकी हुन् ।
संयुक्त बैठक सञ्चालनसम्बन्धी नियमावली नबनेको र कार्यविधि पनि स्पष्ट नभएको अवस्थामा जेठ २८ गते सूचनामार्फत बैठक बोलाइएको थियो । यसअघि अभ्यास गरिएको बैठकबाट सूचना दिने प्रक्रिया समेत नपुगेकाकाले विशेष कारण भन्दै बैठक स्थगित गरिएको थियो तर कार्यविधि स्पष्ट नभएपछि सरकारले संविधानको धारा ९३ को व्यवस्था अनुसार संयुक्त अविधेवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस अनुसार बैठक आह्वान भएको हो ।
संयुक्त बैठकमा संयुक्त सदन सञ्चालनको नियमावली पेस हुनेछ । सांसद् कृष्णभक्त पोखरेल सभापति रहेको समितिले तयार पारेको संयुक्त सभा तथा समिति सञ्चालन नियमावली आइतबार नै पारित गर्ने तयारी छ ।











