राजविराज, २ असार । राजविराजमा गर्भवतीको हत्या भएको छ । राजविराज नगरपालिका–१५ मुसहर्नियाकी १७ वर्षीया बेचनीकुमारी साहको हत्या भएको र हत्या गरी ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शुक्रबार शव फेला परेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले बताए । गर्भवती रहेकी बेचनी कुमारीको करिब ४ र ५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ ।

hatya ...हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँमै दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शव भेटिएको हो ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राखेको छ । मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर बेपत्ता भएका छन् । घटनाबारे थप अनुसन्धान भइसकेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । पतिले नै हत्या गरेको मृतक बेचनीको माइती पक्षले आरोप लगाएका छन् ।  रासस