बाँके, १ असार । हुलाकी सडक र सिक्टा सिँचाइ आयोजनाको नाममा डोजरकोे सहायताले राप्ती र अन्य खोलाको दोहन भइरहेको छ । राप्ती नदी र खोलामा डोजर प्रयोग गरी नदी तथा खोलाजन्य वस्तु उत्खनन हुन थालेपछि स्थानीयले रोक्न माग गरेका छन् ।

Rapti-rivarआयोजना र परियोजनाको नाममा ठेकेदार कम्पनी र क्रसर उद्योगले कानुन विपरित नदी र खोलामा एक्जाभेटर प्रयोग गर्दा वातावरणमा असर परेको भन्दै उनीहरुले एक्जाभेटर प्रयोगमा रोक लगाउन माग गरेका हुन् । एक्जाभेटर प्रयोग गर्दा नदी तथा खोला गाउँमा पस्ने सम्भावना बढेपछि स्थानीयले एक्जाभेटर प्रयोगमा रोक लगाउन माग गरेका हुन् नयाँ पत्रिकामा खबर छ ।

राप्ती नदीमा एक्जाभेटर प्रयोग गरेपछि साविकको फत्तेपुर गाविस जोखिममा पर्ने खतरा बढेको भन्दै राप्तीसोनारी गाउँपालिका–६ र ७ का स्थानीयले गणपति कन्स्ट्रक्सन र कुमार श्रेष्ठ कन्स्ट्रक्स्नका तिन वटा एक्जाभेटर र २० वटा ट्रिपर नियन्त्रणमा लिएका छन् ।

नदीमा एक्जाभेटर प्रयोग नगर्न पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि बाध्य भएर नियन्त्रणमा लिएको राप्तीसोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुले बताए । ‘जुन ठाउँबाट बाढी पस्छ त्यहि ठाउँमा एक्जाभेटरको सहायताले नदीजन्य वस्तु उत्खनन् हुन थालेपछि नियन्त्रणमा लिन बाध्य भयौँ,’ उनले भने ।

उनले नियम विपरित नदीजन्य वस्तु उत्खनन् भइरहेको बताए । राप्ती नदीबाट अनधिकृत रुपमा नदीजन्य वस्तु उत्खनन् भइरहेको नियमनकारी निकायलाई जानकारी गराउँदासमेत नियन्त्रणको पहल नभएको उनले गुनासो गरे । ‘तल्लो तहले हारगुहार गर्दा समेत सुनुवाई नहुनुले यसमा उच्च सरकारी कर्मचारीको समेत हात भएको स्पष्ट हुन्छ,’ थारुले भने ।

स्थानीयले दिउँसो राप्ती नदीमा एक्जाभेटर प्रयोग गर्न नदिएपछि निर्माण कम्पनीले रातको समयमा नदीजन्य वस्तु उत्खनन गर्दै आएको खुलासा भएको छ । रातको समयमा नदीजन्य वस्तु उत्खनन गरिरहेका तीन वटा एक्जाभेटर र १५ वटा ट्रिपर राप्तीसोनारी गाउँपालिका–६ र ७ का स्थानीयले नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

मध्यरातमा एक्जाभेटरमार्फत राप्ती नदीबाट बालुवा र गिट्टी उत्खनन गरिरहेका एक्जाभेटर र ट्रिपरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको राप्तीसोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुले बताए । राप्ती नदीमा एक्जाभेटर मार्फत रातको समयमा नदीजन्य वस्तु उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा नदीमा पुगेरे गाडीको चावी प्रहरीलाई बुझाएको उनले बताए ।

लुकिछिपी नदीजन्य वस्तु उत्खनन् गर्ने एक्जाभेटर मानिस देखेपछि भाग्ने गरेका छन् । ‘पहिलो पटक घेरा हालेर नियन्त्रणमा लिन खोज्यौँ, तर सफल भएनौँ । दोश्रो पटक घेरा हालेर नियन्त्रणमा लिन सफल भयौँ,’ उनले भने ।