काठमाडौँ, ३१ जेठ । विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा पाँच जना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उनीहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् ।
पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा मीनेन्द्र रिजालले आगामी आवमा २० लाख पर्यटन भित्र्याउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । उनले निर्माणाधीन विमानस्थलको समयावधि र खर्च विनियोजनको तादाम्यता नमिलेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेको बताए ।
सांसद प्रेम सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालय शीर्षकको खर्च रकमलाई घटाउन प्रस्ताव गरे ।
उनले विश्व सम्पदासूचीमा सूचीकृत सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान नदिएको भन्दै खर्च कटौती गर्नुपर्ने प्रस्ताव पेश गरेको स्पष्ट पारे ।
युवा तथा खेदकूद मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद प्रमिला राईले अनावश्यक रकम घटाउनुपर्ने बताए भने अर्का सांसद प्रकाश रसाइलीले अर्थमन्त्रालय शीर्षकको खर्च रकम घटाउनुपर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।











