इन्द्रेणी संवाददाता
घोराही, १० जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाको १५ औं नियमित बैठकले जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृति दिवस मनाउने निर्णय गरेको छ । हरेक वर्ष झै नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर नेपाल र अखिल नेपाल जनसाँस्कृतिक महासंघसंग सहकार्य गर्दै भव्य कार्यक्रमको आयोजना गरी सेन स्मृति मनाउने निर्णय गरेको हो । जसका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी शाखा अध्यक्ष सबिन प्रियासनलाई दिइएको छ ।
यसैगरी बैठकले यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पुरस्कार तथा चिन्तामणी — जमुना स्मृति पुरस्कारका लागि प्रतिभा छनौट गर्न शाखा अध्यक्ष सबिन प्रियासनको संयोजकत्वमा, उपाध्यक्ष लिला शाह र सचिव भुपेन्द्र वली रहेको छनौट समिति गठन गरिएको छ । पुरस्कार जेठ १३ गते आयोजित कार्यक्रममा प्रदान गरिनेछ ।
शाखा अध्यक्ष सबिन प्रियाशनको अध्यक्षता एवं सल्लाहकार सुदीप गौतमको आतिथ्यतामा सम्पन्न बैठकले घोराही उपमहानगरपालिकाद्धारा यस शाखामा अक्षय कोष स्थापनाका लागि प्राप्त रकम ३ लाख यस शाखाको २०७२ सालमा सम्पन्न साधारणसभाबाट पारित ‘पत्रकार कल्याणकोष सञ्चालन निर्देशिका २०७२’ बमोजिम सञ्चालन एवं व्यवस्थापन गर्ने निर्णय गरियो र कोषलाई आँउदा दिनमा वृद्धि गर्दै लगिनेछ बैठकपछि सचिव भुपेन्द्र वलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।











