दाङ, १० जेठ । दाङको घोराही उपमहानगरपालिकाले पछिल्लो चरणमा नगर क्षेत्रभित्र जलाशय संरक्षणमा वृहत योजना अघि सारेको छ । योजना अनुसार उपमहानगरपालिकाले वडा नं. १३ मा करिव १ किलोमिटर क्षेत्रफलको ड्याम(जलाशय) निर्माण गर्न शुरु गरेको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा रु. ९७ लाखको लगानीमा ड्याम निर्माण गरिएको छ । आगामी वर्षमा थप बजेट विनियोजन गरिने उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । ‘एउटै योजनाबाट बहुउपयोगी काम गर्न सकिन्छ,’ चौधरीले भने, ‘हामीले त्यस क्षेत्रमा सानो स्तरको निकुञ्ज समेत स्थापना गर्ने योजनामा छौं त्यसको सुरुवात समेत शुरु गरिसकेका छौं ।’
अहिले करिव १ किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको ड्यामले सिचाई, खानेपानी, पर्यटन र वातावरण संरक्षणमा टेवा पुग्ने समेत प्रमुख चौधरीको भनाइ छ । उक्त जलाशय निर्माणले निर्माण पछि त्यस क्षेत्रको तल्लो भेगमा पानीका मुल समेत फुट्ना थालेका छन् ।
निकट भविष्यमा घोराही, सर्रा र नारायणपुर क्षेत्रमा खानेपानीका लागि सो ड्याम प्रमुख स्रोत बन्ने उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले बताए । अहिले वराह क्षत्रेदेखि कलमघारीको करिव १ किलोमिटर क्षेत्रमा २२ मिटर गहिरो ताल बनेको छ ।
उपमहानगरपालिकाले ड्यामबाट ८ क्षेत्रमा उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ । मुख्य कुरा आकाशेपानी संरक्षण गरेर जमिनमुनी पानीको सिंचित गर्नु हो । यसबाट दाङलाई खण्डहर हुनबाट बचाउन सकिने उपमहानगरको अपेक्षा गरेको छ । उपमहानगरपालिकाका १ देखि १९ नं. वडासम्मका सबै वडाहरुमा साना तथा ठूला जलाशय संरक्षणका योजना अघि सारिएको मेयर चौधरी जानकारी दिए ।











