सल्यान, १० जेठ । सल्यानको कपुरकोटमा जारि ज्ञान महायज्ञमा साढे चार हजार भन्दा बढी भक्तजनहरुले कथा श्रवण गरेका छन् । गत सोमबारबाट सुरु भएको महायज्ञमा दिनप्रतिदिन शिक्षाप्रेमि तथा धर्मप्रेमी भक्तजनहरुको उपस्थीती बढ्दै गएको मुल आयोजक समितिले जनाएको छ । आज विहिबार पनि महायज्ञमा विभिन्न कार्यक्रम जारी छन् ।

IMG20180523152924कालिका मावि कपुरकोटलाइ नमुना बनाउनका लागि भन्दै आयोजना गरिएको महायज्ञमा हालसम्म कलश तथा यन्त्र विक्री एवम् दानराशिबाट १६ लाख बढी संकलन भएको महायज्ञ मुल आयोजक समितीका महासचिव बामदेव अधिकारीले जानकारी दिएका छन् ।

महायज्ञमा कपुरकोट तीन निवासी माधन गिरी र देवकी गिरीले दुई लाख रुपैयाँ बराबरको आधा रोपनी जग्गा दान गरेका छन् । यस्तै कपुरकोट ३ निवासी मधुसुदन गिरि र सुनीता गिरिले तुला दान गरेका छन् । उनीहरुले आफ्नी आमा पशुपति गिरीको नाममा तुला दान गरेका हुन् । यस्तै महायज्ञमा विभिन्न कार्यालयबाट २२ लाख बढिको प्रतिवद्धता आएको पनि महासचिव अधिकारीले जानकारी दिएका छन् ।

महायज्ञमा १८ पुराणका ज्ञाता बालव्यास पण्डित नारायण न्यौपानेले संगीतमय शैलीमा कथा वाचन गरिरहेका छन् । साथै गोविन्द शरण महाराजको प्रवचन र राष्ट्रिय स्तरका कलाकारहरुको झाँकी, भजन तथा नृत्य पनि महायज्ञमा प्रस्तुत भइरहेको छ । आगामी जेठ १४ सम्म चल्ने महायज्ञ अवधिभर व्रतबन्ध, रुद्री, तुलादान, चौरासी पूजासमेत गर्न सकिने पण्डित नारायण न्यौपानेले जानकारि दिएका छन् ।।