काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकारसहितको लोकतन्त्रको स्थापना भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली सेनाको इन्द्रध्वज गणको बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको आधारहीन सिद्धान्तको समय सकिएकाले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुआत भएको बताए ।

kp oli 960“अब जन्मदै जर्नेल हुने जमाना गयो, अब सक्षम, प्रतिष्पर्धी, योग्य व्यक्तिले यस्ता अवसरहरु पाउँछन्”–उनले भने। वर्तमान सरकारले जनता, सेना, मजदुरको हितमा काम गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको गौरवपूर्ण इतिहास भएको बताए ।

सेनाले नेपालको अखण्डता, राष्ट्रियता, स्वाधीनताको रक्षामा सदा उच्च भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । सेनाले अब बंकरमा बस्नु नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “तालीमको बेलाबाहेक सेनाले अब बंकरमा बस्नु पर्दैन, सेनालाई अब व्यावसायिक, दक्ष र प्रतिष्पर्धी बनाइन्छ ।” रासस