काठमाडौं, ६ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युष्टि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सबै दृष्टिले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेकपा भएको भन्दै कांग्रेसलाई नआत्तिन आग्रह गरे ‘नेपाली कांग्रेस अलि बढी आत्तियो । नेपाली कांग्रेस आत्तिनु पर्दैन । नेपालमा सबैभन्दा बढी डेमोक्रेटिक पार्टी नेकपा भएको छ । त्यसैले अध्यक्ष पनि दुईवटा भएका छन्’, उनले भने ।
मुलुकलाई अघि बढाउन अनुकूल भूमिका खेल्न सक्ने औचित्यका आधारमा संविधान संशोधन गरिने पनि ओलीले बताए । पार्टी एकीकरणपछि शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको पहिलो एकिकृत बैठकमा नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउने सवालमा संविधान संशोधन हुने बताए ।
उनले राष्ट्र विकासको साझा संकल्प पूरा गर्ने सवालमा संविधान संशोधन गरिने बताए । ओलीले राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनतालगायत आन्तरिक मामिलामा स्वतन्त्र राष्ट्रको हैसियतको सरकारले काम गर्ने स्पष्ट पारे। अरुबाट नियन्त्रित र निर्देशित भएर सरकार नचल्ने भन्दै उनले राष्ट्रिय स्वभिमानमा आँच आउन नदिने बताए ।











