शंकर केसी

सल्यान, २ बैशाख । सल्यान जिल्लामै पहिलो पटक पावर डिलिङ प्रविधिमार्फत जमिन भित्रबाट पानी निकालिएको छ । डिटिएस मेसिन जडान गरेर जमिन मुनि फलामे पाइप घुसाएर पानी निकालिएको हो । रीमको खाली मिलन बजार नजिक रहेको कोप्चेपानी भन्ने स्थानबाट डीटीएस मेसिनले जमिनभित्र एक सय फुट लामो फलामे पाइप गाडेर पानी निकाल्न गरिएको परिक्षण सफल भएको हो ।

paniजिल्लामा डिपबोरिङ गरेर जमिनमुनिको पानी निकालीएको भए पनि यस अघि डीटीएसबाट पानी निकालेको कुनै रेकर्ड नभएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानका प्रमुख गुणनिधि पोख्रेलले जानकारी दिए ।

कपुरकोट ५ रीमखालीमा रहेका एक सय पचास बढी घरधुरिलाई वर्षाैँदेखि खानेपानीको समस्याले पिरोलिरहेकाले गाउँलेहरु आफैले लगानी गरेर जमिनमुनिको पानीमाथि निकाल्ने परिक्षण गरेका हुन् । प्रत्येक वर्ष खानेपानीको माग गर्दै विभिन्न निकायमा हारगुहार गर्दा पनि सम्बोधन नभएपछि र नजिकबाट खाली बजारमा पानी ल्याउन कुनै मुहान नभएपछि स्थानीयकै लगानीमा डीडीएस मेसिन ल्याएर जमिनको पानी निकाल्न लागिएको खाली बजार व्यवस्थापन समितिका अध्यक्ष गिरिराज ओलीले जानकारी दिए ।

उनले भने, ‘खानेपानीको व्यवस्था कसैले गरिदिने भएन, त्यसैले डेढ लाख बढी लगानी गरेर हामी आफैले यो परिक्षण सम्पन्न गर्याैँ ।’ शुरुमा जमिनबाट पानी ननिक्लीएपछि निराश बनेका खाली मिलनबजारका स्थानीयहरु १० वटा फलामे पाइप जमिनमा धसीसकेपछि पानी निक्लीदा हर्षित भएका छन् ।

यसैमाथी १५ लाख बढी खर्च हुने यस्तो परिक्षण डेढ लाखमै भएपछि उनीहरुमा थप खुसी थपिएको छ । ‘डीटीएस मेसिन सञ्चालन गरेको कम्पनीका अनुसार यहाँसम्म मेसिन ल्याएर परिक्षण गर्दा पन्ध्र बिस लाख भन्दा बढी लाग्छ रे,’ बजार व्यवस्थापन समितीका अध्यक्ष ओलीले भने, ‘रोलपामा काम सकेर यतैको बाटो भएर फर्काउदै गरेको मेसिनलाई राखेर हामीले रीमकोखालीमा परिक्षण गर्दा सस्तो परेको हो ।’

कसरी आउँछ जमिनमाथि पानी ?

यो परिक्षण गर्न डीटीएस मेसिन एच. एम. एग्रीकल्चर एण्ड वोरवेल कम्पनी प्रालिकञ्चनपुरले ल्याएको हो । प्रालिका प्राविधिक कृष्ण विष्टका अनुसार यो परिक्षण खास गरी सिम क्षेत्र, हरियाली भएको ठाउँ या पुराना मुहान हराएको वा पुरिएको स्थानमा सफल हुन्छ । उनले भने, ‘सबैभन्दा जमिन मुनि गाड्ने पाइप जाली बनाइएको हुन्छ ।’ रीमको मायादेवी सामुदायिक वन क्षेत्रमा पर्ने कोप्चेपानीमा गरिएको परिक्षणमा ६ इन्च गोलाई भएका १० वटा पाइप मेसिनको सहायताले जमिनमुनि घुसाइएको छ ।

‘शुरुमा ६ मिटर लामो पाइपलाइ प्वाँल र चिरा पारेर जाली बनाइ घुसायौँ,’ ‘प्राविधिक विष्टले भने, ३० मिटर तल पाइप घुसाउँदा पानी माथी आयो ।’ जमिन मुनिबाट ३२ देखि ४० मिलिमिटर पानी निस्किएको अर्का प्राविधिक शंकर विष्टले जानकारी दिए । अव चौविसै घण्टा पानी आइरहने उनको दाबी छ । ‘हामीले २५० बढी ठाउँमा यस प्रकारको परीक्षण गरिसक्यौँ, एक दुई ठाउँमा मात्रै पानी निक्लन सकेन ।

अन्यत्र सबै ठाउँमा नियमित पानी आइरहेको छ,’ उनले भने । बजार व्यवस्थापन समितिका अध्यक्ष गिरिराज ओलिको पहलमा गरिएको यस परीक्षणमा स्थानीय लगनशील बचत समूहले लगानी गरेको ओलीले जानकारी दिए । समूहका व्यवस्थापक तुलसीराम योगीले आफ्नो समूहले गरेको लगानी खेर नगएको बताउँदै अव खानेपानी पाइन्छकी भन्ने विश्वास व्यक्त गरे ।

यसैबीच अहिले खाली मिलनबजारका एक सय ५० बढी घरधुरीलाई खानेपानीको चरम अभाव छ । गर्मीयाम शुरु भएमा त झन यहाँका वासिन्दाले ठूलो समस्या झेल्नुपर्छ । हिजोआज यहाँका बासिन्दाहरुलाई करिव दुई घण्टा समय लगाएर लिसेखोला र कोलबोटसम्म उकाली ओराली गरेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्ति पाउनका लागि परिक्षण सम्पन्न भएको योजनालाई समपन्न गर्न आवश्यक छ । यो योजना सम्पन्न गर्न झण्डै ४० लाख बढी खर्च लाग्ने अनुमान छ ।