काठमाडौं, ३ चैत्र । पहिलो पटक सुदूरपश्चिम अर्थात हालको प्रदेश ७ बाट एक जना महिला क्याविनेट मन्त्री बन्नु भएको हो । नेकपा माओवादी केन्द्रकी नेत्री एवं कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतान्तरले विजयी सांसद बीना मगर केपी शर्मा ओली नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट पहिलो क्याविनेट मन्त्री बन्नु भएको हो

शुक्रबार तेस्रो पटक विस्तारी मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट ओली सरकारमा मगर खानेपानी मन्त्रीमा नियुक्त हुनु भएको हो । सुदूरपश्चिमबाट यसअघि कुनैपनि सरकारमा महिला मन्त्री बनेका छैनन् । २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको क्याविनेटमा द्वारिकादेवी ठकुरानी सहायक मन्त्री बनेकी थिइन । त्यसयता दर्जनौ सरकारमा सुदूरपश्चिमबाट दर्जनौ मन्त्री बनें तर यसअघि कुनै पनि महिला क्याविनेट मन्त्री बनेका थिएनन् ।

यस्तो छ जीवनी
नेपाल सरकार, खानेपानी मन्त्रालयमा नवनियुक्त मन्त्री माननीय बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरको ज्येष्ठ सुपुत्रीको रुपमा भएको हो । उहाँले पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गर्नुभयो ।

पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट उहाँले माध्यमिक तहको शिक्षा पूरा गर्नुभयो । उहाँले स्नातक तहसम्म शिक्षा आर्जन गर्नुभएको छ । बाल्यकालदेखि नै समाजमा विद्यमान गरीबी, असमानता र विभेद देखेर उहाँमा विद्रोही स्वभाव विकास भयो । र, २०५१ सालमा ११ वर्षको उमेरमै उहाँ जनबालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गर्नुभयो ।

गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता न्यूनतम सुविधा समेत नपाएका कञ्चनपुरको दक्षिणी क्षेत्रका वस्तीहरूमा जनताका आवाज उठाउँदै हुर्किनुभएका उहाँ माध्यमिक तहमा अध्ययनरत छँदा माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भइसक्नुभएको थियो ।

विद्यार्थी राजनीति गर्दा अखिल क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालमा उहाँ अखिल नेपाल महिला संघ क्रान्तिकारी कञ्चनपुरको जिल्ला अध्यक्ष हुनुभयो । त्यसपछि राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं आउनुभयो । काठमाडौंमा उहाँले तत्कालीन अखिल क्रान्तिकारीमा आवद्ध भएर भित्रिरूपमा नेकपा माओवादीको पूर्णकालीन सदस्यको रूपमा काम गर्नुभयो ।

काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा अत्यधिक मतले जित्नुभएका बिना मगर २०६० सालमा अखिल क्रान्तिकारी काठमाडौंको जिल्ला अध्यक्ष हुनुभयो । राजधानी काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उहाँलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार ग¥यो ।

वेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २७ महिनासम्म उहाँले चरम यातना सहनुभयो । धेरै सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि उहाँ संयोगवश ब्यारेकमै छुटेर बाँच्न सफल हुनुभएको थियो ।

शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा नै कार्यक्षेत्र रहेर उहाँ फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बन्नुभयो । २०६४ सालको स्ववियू निर्वाचनमा उहाँ सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा लोकप्रिय मतका साथ विजयी हुनुभयो । योसँगै उहाँ पार्टीको केन्द्रीय सदस्य समेत बन्नुभयो । हाल उहाँ पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले पराजित भएपनि जनतासँग निरन्तर जोडिनुभयो ।

विकास निर्माणदेखि जनताका हरेक समस्यामा उहाँको सक्रियता कायमै रह्यो । यही सक्रियता र जनताप्रतिको समपर्णकै कारण उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोही क्षेत्रबाट दुईतिहाई मत ल्याएर विजयी बन्नुभयो ।

मतका आधार बिना मगर ७ नम्बर प्रदेशका वाम उम्मेदवार र देशैभरिबाट माओवादीका महिला उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले जित्ने महिला बन्न सफल हुनुभयो ।

नेपाली समाजको रुपान्तरणमा उहाँको योगदान, जनताले दिएको मत र उहाँले खेलेको संघर्षपूर्ण भूमिकाको कदर गर्दै नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ बाट एकमतले उहाँको नाम मन्त्री पदका लागि सिफारिस भएपछि पार्टीले उहाँलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

पारिवारिकरुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र दिवंगत प्रकाश दाहालसँग उहाँको विवाह भएको थियो । निर्वाचनमा खटिएको बेला उहाँका श्रीमान प्रकाश दाहालको हृदयघातबाट मृत्यु भएको थियो । शोकको घडीमा समेत जनताबीच दृढ अठोटका साथ उहाँ खटिनुभएको थियो । उहाँका १ जना छोरा रहेका छन् ।