इन्द्रेणी संवाददाता
काठमाडौं, २५ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईले राष्ट्रियसभा सदस्यको शपथ लिएका छन् । उनीहरुलाई राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथग्रहण गराएका हुन् ।
तीनैजनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेको नाम थन्क्याएर नयाँ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।











