उदय बीसी
दाङ, १६ फागुन । दाङका पर्यटन उद्योगमा करीव पौने ६ अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्याङ अनुसार जिल्लाका ६ सय २२ पर्यटन उद्योगमा पाँच अर्ब ९४ करोड ९० लाख ८२ हजार एक सय ४४ रुपैयाँ लगानी भएको छ । पर्यटन उद्योगमा होटल तथा रेष्टुरेन्टहरु पर्दछन् ।
त्यसैगरी जिल्लाका चार हजार ९ सय २ वटा घरेलु तथा साना उद्योगमा १३ अर्ब २९ करोड ६३ लाख ५७ हजार २ सय ४१ रुपैयाँ लगानी घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकृत वामदेव शर्माले बताए ।
चालु आर्थिक वर्षको छ महिनामा मात्रै जिल्लामा चार सय ९१ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । जसबाट ६१ करोड ६० लाख ८२ हजार सात सय ३८ रुपैयाँ लगानी थपिएको छ ।
चालु आर्थिक वर्षदेखि सरकारले पाँच लाख स्थिर पूँजी भएका लघु उद्यमलाई निःशुल्क रुपमा दर्ता गर्ने व्यवस्था ल्याएकाले पनि गएका वर्षभन्दा चालु आ.व.मा उद्योग दर्ता गर्नेको संख्या बृद्धि भएको सूचना अधिकारी शर्माको भनाइ छ । तर, जिल्लामा उद्योग दर्ता हुने क्रम वढेपनि दर्ता भएको करीव ३० प्रतिशत भन्दा वढी उद्योग बैंकबाट ऋण लैजानका लागि मात्रै दर्ता भएका छन् ।











