इन्द्रेणी संवाददाता

काठमाडौं, ८ फागुन । एकताको लामो छलफल पछि अन्ततः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो ।

             parti akata

पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा पटकपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल भएका थिए । दुबै दलले एकता प्रक्रियामा सहमति निर्माण गर्न दुबै अध्यक्ष रहने पार्टी एकता संयोजन समिति गठन गरेका थिए । आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले सात बुँदे समझदारी गरेको हो ।

20180220_054642

             पार्टी एकताका लागि सहमति भएका बुँदाहरु
१) एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने छ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३) नेकपा (एमाले)ले अबलम्वन गरिआएको “जनताको बहुदलीय जनवाद” र नेकपा (माओवादी केन्द्र)ले अवलम्वन गरिआएको “माओवाद र २१ औं शताब्दीमा जनवाद” सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४) नेकपा एमालेले अपनाउँदै आएको “जनताको बहुदलीय जनवाद” अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५) उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६) महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
७) आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।