काठमाडौं । नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताका लागि निर्णायक भनिएको वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमतिलाई दुबै पार्टीका शीर्षनेता सहभागी संयोजन समितिमा गहन छलफल गरी पार्टी एकताको अन्तिम खाका तयार पार्ने र आजै खाकामा हस्ताक्षर गर्ने तयारी भएको उच्च श्रोतले जनाएको छ ।
गएका असोज १७ गतेदेखि औपचारिक रुपमा शुरु भएको पार्टी एकता प्रक्रियाको आज (सोमबार) टुंगो लगाउने गृहकार्यमा नेताहरु जुटेका छन् । तर गएको फागुन २ गते भएको पार्टी एकता संयोजन समितिको बैठकमा एमालेले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादबाट दायाँवाया नगर्ने अडान लिएपछि एकतामा देखिएको सैद्धान्तिक समस्या आइतबार ओली र प्रचण्डबीच भएको वान टु वान वार्ताले निकास निकालेको थियो ।
एकतामा विग्रिएको जस्तो अवस्था देखिए पनि माओवादी केन्दले्र एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन त सघायो तर सरकारमा मन्त्री नपठाएपछि एमाले माथि दवाव पर्यो । जसको कारण आइतबार ओली र प्रचण्डबीच भक्तपुरमा दिउँसोको खानासहित भएका करिब पाँच घण्टा लामो वान टु वान वार्ताले पार्टी एकतामा ब्रेक थ्रु गर्यो ।
शक्ति बाँडफाँडका धेरै विषयमा फागुन २ गते पार्टी एकता संयोजन समितिको बैठकमा नै सहमति जुटाएको दावी गरिएको थियो । पार्टी नेतृत्वमा ओली र प्रचण्ड समान हैसियतमा रहने, सरकारको नेतृत्व दुबै नेताले आलोपालो गर्ने तथा सैद्धान्तिक विषयलाई महाधिवेशनसम्म बहसमा लैजाने मोटामोटी सहमति भएको जनाइएको छ ।
सहमति अनुसार प्रधानमन्त्री हुने नेता पार्टीको सेरमोनियल अध्यक्ष र अर्को नेता अधिकारसम्पन्न अध्यक्ष हुनेछन् । अर्थात्, सुरुमा ओली प्रधानमन्त्री र सेरमोनियल अध्यक्ष तथा प्रचण्ड अधिकारसम्पन्न अध्यक्ष हुनेछन् । दोस्रो कार्यकालमा ओली अधिकारसम्पन्न अध्यक्ष र प्रचण्ड प्रधानमन्त्री एवं सेरमोनियल अध्यक्ष हुनेछन् । सुरुकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुबै आधा–आधा समय प्रधानमन्त्री हुनेछन् ।
नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त एमालेको जवज र माओवादीको २१ औं शताव्दीको जनवाद दुबैलाई तल्लो तहसम्म छलफलमा लगेर एकता महाधिवेशनबाट समाजवाद उन्मुख नयाँ मार्गदर्शक सिद्धान्तको विकास गर्ने गरि सहमति हुन लागेको एक नोतले जानकारी दिए । एभरेष्ट दैनिकमा खबर छ ।
बैठकमा एमालेबाट अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, सुभाष नेम्वाङ र माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
देशका दुई ठूलो पार्टीबीचको एकतालाई देशविदेशमा पनि ठूलो चासोका साथ हेरिएको छ । आज पार्टी एकताको खाकामा हस्ताक्षर हुने चर्चा सँगै बैठकस्थल प्रधानमन्त्रीको निवास बालुवाटार बाहिर सञ्चारकर्मीका बाक्लो भिड लागेको छ ।