काठमाडौं, ६ फागुन। नेकपा माओवादी केन्द्रको भागमा परेको प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्ट छन् । २७ वर्षदेखि माओवादी राजनीतिमा सक्रिय रहेका उनी डोटी ‘ख’बाट निर्वाचित हुन् । उनले औपचारिक शिक्षा कक्षा ८ मात्रै पढेका छन् ।
प्रकाश शाहः आन्तरिक मामिला तथा कानुनमन्त्री
एमाले संसदीय दलको नेतामा चयन भएका ४६ वर्षीय शाह बाजुरा ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । ०४६ मा अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहले इन्जिनियरिङमा डिप्लोमा गरेका छन् । बाजुराको बूढीगंगा नगरपालिकास्थित बलदेवमाडौंका शाह एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुन् ।
झपट बोहराः आर्थिक मामिला तथा योजनामन्त्री
धनगढी स्थायी घर भएका ४९ वर्षीय रावल अछाम १ ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका रावल पूर्वबैंकर पनि हुन् । ०६४ मा माओवादीमा आबद्ध रावल अहिले सल्लाहकार छन् ।
दीर्घ सोडारीः सामाजिक विकासमन्त्री
कैलाली ४ ‘क’बाट निर्वाचित ३७ वर्षीय सोडारी धनगढी शिवनगरका स्थायी बासिन्दा हुन् । बिबिएससम्मको अध्ययन गरेका सोडारी एमाले कैलालीका अध्यक्ष हुन् ।
पठानसिँह बोहराः भौतिक पूर्वाधारमन्त्री
डडेल्धुरा ‘क’बाट निर्वाचित ५२ वर्षीय बोहरा ३४ वर्षदेखि राजनीतिमा सक्रिय छन् । कानुनमा स्नातक बोहरा एमाले प्रदेश कमिटी सदस्य हुन् ।
माया भट्टः उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री
बैतडीबाट समानुपातिक सांसद ५२ वर्षीया भट्टले कक्षा ८ सम्म अध्ययन गरेकी छिन् । दशरथ चन्द नगरपालिकास्थित गोठालापानी स्थायी घर भएकी भट्ट ०४६ देखि राजनीतिमा सक्रिय छिन् । उनी एमाले प्रदेश कमिटी सदस्य हुन् ।
विनिता चौधरीः भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री
०५७ मा माओवादीमा आबद्ध ३२ वर्षीया चौधरी कैलालीबाट समानुपातिक सांसद हुन् । एसएलसी उत्तीर्ण चौधरी युद्धकै वेला पक्राउ परेपछि एक वर्ष कैलाली जिल्ला कारागारमा बसेकी थिइन् । उनी माओवादी केन्द्रीय सदस्य हुन् ।











