रुपन्देही, २ फागुन । प्रदेश म्वर पाँचको सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । प्रदेश नं ५ को बुधबार बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।
सभामुख पदका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन हुनुभएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गरेका थिए ।
बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका थिए ।
रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीय बासिन्दा हुन् । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराको रुपमा २०२४ असार २९ गते उहाँको जन्म भएको हो । उहाँकी श्रीमती सीता आचार्य र एक छोरी लिचुन घर्ती मगर हुन् ।
विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लाग्नुभएका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेबारी सम्हाल्नु भएको थियो । पछिल्लो पटक उनी नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए ।











