काठमाडौं, २ फागुन । सम्बन्धविच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा प्राण त्यागिन्।
धनुषाको क्षिरेश्वर नगरपालिका-८, हार्सरकी हजरालाई माघ २० गते श्रीमान् रसिद राइनसहित सासूससुरा मिलेर मट्टीतेल जिउमा खन्याएर घरमै आगो लगाएको आरोप माइती पक्षको छ।
शरीर जलेकै अवस्थामा खातुनको उद्धार गरी सुरुमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं कीर्तिपुर अस्पतालमा भर्ना गरियो। तर, यहाँ पनि उनको जीवन रक्षा गर्न असम्भव भयो।
जलाइएको १० दिनपछि अन्ततः उनको प्राणपखेरु गयो। खातुनको टाउको भन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो। मृत्युअघि हजराले आफूलाई पति रसिद, ससुरा अलिशेख कवारी, सासू रामसुनरी खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको जानकारी प्रहरीलाई गराएकी थिइन्।
दोस्रो बिहे गरेका पतिबाट पेट्रोल खन्याएर जलाइएकी सिन्धुपाल्चोककी अञ्जली श्रेष्ठ यतिबेला अग्नि हिंसापीडित नेपाल (विभिएस) को संरक्षणमा छन्। अन्नपूर्णमा खबर छ -०७३ असोज ६ मा अञ्जलीमाथि आगो लगाएर जलाइएको थियो। आगोका कारण उनको घाँटी र छाती जलेको छ। ‘अग्नि हिंसा’ सम्बन्धी एक कार्यक्रममा आइतबार पीडा सुनाउने क्रममा पुरानो घाउ सम्झेर अञ्जलीका आँखा रसाए। उनले भक्कानिँदै भनिन्, ‘मलाई श्रीमानबाटै आगो लगाइयो। अपराधीलाई कडा सजाय होस्।’