इन्द्रेणी संवाददाता
काठमाडौं, २ फागुन । घोराही उपमहानगरपालिकाको ढोडेनीमा व्यक्तिगत लगानीमा भ्यूटावर बन्ने भएको छ । अरनेरी क्याप्टेन मनबहादुर पुन र दिलमाया पुनमगरको नामबाट करीव ४० लाखको लागतमा भ्यूटावर निर्माण गरिने भ्यूटावर छानासहित १७ मिटर अग्लो हुनेछ । भ्यूटावर निर्माणका लागि सिटीभिजन इन्टरनेशनल इनर्जी कम्पनी प्रालि बुटवलसँग ३ महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको क्याप्टेन पुनका सुपुत्र नरेन्द्र पुनले जानकारी दिए ।
पतिपत्नीको नाम मिलाएर “मनदिल भ्यूटावर” नामाकरण गरेको भ्यूटावर निर्माण गर्नका लागि पुन परिवारको आर्थिक सहयोग हुने भएको छ । भ्यूटावरका लागि पुन परिवारका जेठा छोरा सिङ्गापुर सेनाका सेवानिवृत्त निरीक्षक गुमानबहादुर पुन र मालती पुन, माइला छोरा व्यवसायी तथा दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुन र रन्जिता पुन, कान्छा छोरा डा. वसन्त पुन र डा. सनिता गुरूङ पुन लगायत पुन परिवारको बौद्ध गुम्बासँग सहमति अनुसार उक्त कामको थालनी गरिएको हो ।
भ्यूटावर बनिसकेपछि टिकटबाट उठेको रकम भ्यूटावर संरक्षण, बौद्ध गुम्वालाई सहयोग र बाँकी सबै बालमन्दिर स्कूलका विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्नमा खर्च गर्ने सहमति भएको छ । यसबाट दाङको पर्यटनको विकासमा पनि सहयोग मिल्ने माइला छोरा नरेन्द्र पुनले बताए । उक्त भ्यूटावरबाट दाङ उपत्यकाको पूरै दृश्यावलोकन गर्न सकिने बताइएको छ ।