जीवन नेपाली
दाङ । विजयी भएपछि गाउँ नफर्किने ‘संसदीय चुनावी संस्कार’ तोड्दै प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा अहिले गाउँ–गाउँमा पुगिरहेका छन् । दाङ क्षेत्र नं। २ बाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता महरा चुनावपछि पनि गाउँ गाउँ पुगेका हुन् । गाउँका जनतासँग भेटघाट गर्ने कार्यक्रम मिलाएर पटक–पटक गाउँ आउजाउ गरिरहेका उनी आइतबार दाङको ग्रामीण क्षेत्र बंगलाचुलीका विभिन्न गाउँमा पुगे ।
बंगलाचुलीका हाँसीपुर, जबरकोट, छापडाँडालगायतका ठाउँ पुगेका महराले ग्रामीण क्षेत्रमा अझैं धेरै विकास निर्माणका कामहरु गर्न बाँकी रहेको बताए । ‘गाउँमा जनताले अनुभूति गर्ने गरी काम गर्न धेरै बाँकी छ,’ उनले भने, ‘गाउँ समाजको विकास गर्ने हिजोको जस्तो परिपाटी अब काम छैन, स्थानीय तह, प्रदेश र केन्द्रमा सबै प्रक्रिया मिल्ने गरी काम गर्नुपर्छ ।’
महराले एमाले र माओवादी केन्द्रबीचको एकता अनिवार्यजस्तै भएको बताए । वामपन्थी एकता होस् भनेर नै अहिले जनताले ठूलो अभिमत दिएका भन्दै उनले यसलाई पार्टी एकता गरेर सार्थक बनाउनु पर्ने बताए ।
बंगलाचुली गाउँपालिकाको दक्षिणी क्षेत्रका मतदाता तथा स्थानीय कार्यकर्तासँगको भेटघाटमा महराले भने, ‘दुई पार्टीको एकता नभए देशमा फेरि ठूलो समस्या पैदा हुन्छ, अनि फेरि पुरानै परम्पराको सुरुवात हुन्छ । त्यसैले पार्टी एकता हुनैपर्छ ।’
देशमा अहिले पनि ठूलै शक्ति एमाले र माओवादीबीचको पार्टी एकता नहोस्, स्थिर सरकार नबनोस् भन्ने खेलमा लागेको भन्दै महराले एमाले–माओवादी निकै सचेत भएर अघि पार्टी एकतालाई पूरा गर्नुपर्नेमा जोड दिए ।
स्थानीय जनप्रतिनिधिको रुपमा गाउँपालिका र वडामा चुनिएका जनप्रतिनिधिहरुले जनताको जीवनस्तर बदल्ने गरी काम गर्न आग्रह गरे । ‘तपाई जनप्रतिनिधिहरु हरेक दिन जनताकै माझमा हुनुहुन्छ, जनसरोकारका काममा तपाईंहरु प्रत्यक्ष जोडिनुहुन्छ, महराले भने, ‘तपाईंहरुले आफ्नो जिम्मेवारी र दायित्वबोध गरी जनताको जीवनस्तर बदल्ने गरी काममा लाग्नुहोस्, तपाईंहरुको कामले नै स्थानीय सरकारको सफलता र असफलता निर्धारण हुनेछ ।’
महरासँगै प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा दाङ जिल्ला सहइन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’, संयोजक सुवास पुन, बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीलगायत सहभागी थिए ।