लक्की चौधरी
काठमाडौँ, २३ माघ । वाम गठबन्धनमा आबद्ध दुई दल नेकपा एमाले र नेकपा ९माओवादी केन्द्रबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् । नयाँ सरकार गठनअघि एकतालाई टुङ्ग्याउने गरी गृहकार्य भइरहेको नेताहरूको दाबी छ ।

prachanda-kpसुशासन र विकासका लागि भावी सरकारका प्राथमिकताबारे सुझाव दिन एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । सो कार्यदलको प्रतिवेदनका आधारमा पार्टीको एकता र सरकार गठनको प्रक्रिया जोडिएको विश्लेषण
नेताहरूको छ ।

सो बारेमा आवश्यक गृहकार्य गर्न कार्यदलको बैठक निरन्तर रूपमा बसिरहेको छ । सुशासन र विकासका विज्ञहरूसँग अहिलेसम्म कार्यदलले चारपटक बैठक बसी रायसुझाव लिइसकेको छ । प्रतिवेदन तयारीका लागि विभिन्न विषयगत उपसमिति गठन गरिएको संयोजक गौतमले बताए । आन्तरिक रूपमा युद्धस्तरमा कार्यदलले गृहकार्य गरिरहेको गौतमले जानकारी दिए । विषयगत उपसमिति गठन गरी प्रतिवेदन तयारीको काम भइरहेको उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एक कार्यक्रममा गौतम नेतृत्वको कार्यदलले दिने प्रतिवेदनका आधारमा पार्टीको एकता र सरकार गठन प्रक्रिया अघि बढ्ने बताएका थिए । दुवै दलका अध्यक्षहरूसँगको निरन्तर समन्वयका आधारमा कार्यदलले आफ्नो गृहकार्य गरिरहेको कार्यदलका सदस्यहरूको भनाइ छ ।

कार्यदलका संयोजक गौतमले भने, “अहिलेसम्म विषयविज्ञहरूसँग चारपटक परामर्श गरेका छौँ । उहाँहरूसँगको परामर्श, कार्यदलका सदस्यहरूको राय र सुझावका आधारमा माघ मसान्तभित्र प्रतिवेदन बुझाउँछौँ । ” दुवै अध्यक्षको नेतृत्वमा रहेको पार्टी एकता संयोजन समितिको बैठकमा सो प्रतिवेदन कार्यदलले बुझाएपछि बाँकी एकता र सरकार गठनको प्रक्रिया अघि बढ्ने विश्वास गौतमले गरे ।

कार्यदलको बैठकमा संयोजकको नाताले गौतमले प्रतिवेदनबारेको प्रस्तुतीकरण गरेपछि कार्यदलभित्रै विभन्न विषयगत उपसमिति गठन गरी गृहकार्य भइरहेको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताए । “सकेसम्म छिटो प्रतिवेदन दिने गृहकार्यमा छौँ, ढिलोमा मसान्तभित्रै प्रतिवेदन बुझाउँछौँ”, उनले भने “कार्यदलले गरेका प्रगति र छलफलबारे अहिले नै सबै बताउन मिल्दैन, हाम्रो गृहकार्य अन्तिम चरणमा पुगिसकेको छ ।”